खाेज्नुहाेस

अभिनेत्री नित्या मेननको विवाह अघि बच्चा जन्माउने बयान बन्यो विवादित

Image

दक्षिण भारतीय अभिनेत्री नित्या मेनन आफ्नो सरल जीवनशैली र गम्भीर अभिनयका लागि चिनिन्छिन्। तर हालै उनले सम्बन्ध, विवाह र मातृत्वका बारेमा दिएको एउटा अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। कन्नड अभिनेत्री भावनाले विवाह नगरी आमा बन्ने निर्णय लिएपछि समाजको एउटा तप्काले उनको आलोचना गरिरहेको थियो। यस्तो अवस्थामा नित्या भावनाको समर्थनमा उभिइन्। उनले आमा बन्नका लागि विवाह अनिवार्य हुनुपर्छ भन्ने मान्यताको विरोध गरेकी छन्।

एक युट्युब च्यानलसँगको कुराकानीमा उनले भनिन्, ‘विवाहपछि गर्भवती हुनुको सट्टा विवाह बिना आमा बन्न चाहनुमा केही गलत छैन। यदि तपाईं केवल बच्चा मात्रै चाहनुहुन्छ भने विवाह गर्नु आवश्यक छैन।’ उनले थपिन्, ‘आजको आधुनिक समयमा बच्चा जन्माउने धेरै वैज्ञानिक र कानुनी बाटाहरू छन्। मानिसहरूले त्यसलाई अपनाउनु स्वाभाविक हो।’

attariya hospital
navjiwan hospital

एक अन्तर्वार्तामा जब नित्यालाई वैवाहिक जीवन वा नि:सन्तान जीवनमध्ये एक रोज्न भनियो उनले स्पष्ट ‘नि:सन्तान’ जवाफ दिइन्। उनले आफू वैवाहिक सम्बन्धमा रहन चाहे पनि नि:सन्तान जीवन नै आफ्नो पहिलो प्राथमिकता भएको बताइन्। उनको यो विचारले वंश अगाडि बढाउन विवाह गरिन्छ भन्ने सोच राख्नेहरूलाई अचम्ममा पारेको छ।

अझै अविवाहित नित्या ३८ वर्षकी भइन्। विवाहका लागि आफूलाई निकै दबाब आउने गरेको कुरा उनले एक पुरानो अन्तर्वार्तामा उल्लेख गरेकी थिइन्। उनी भन्छिन्, ‘म सधैं एक जीवनसाथी चाहन्थें जससँग म सुन्दर यात्रा बाँड्न सकूँ, तर मैले त्यो व्यक्ति अहिलेसम्म फेला पारेको छैन। म विवाहको लागि मात्र सम्बन्धमा हतार गर्न चाहन्न।’

नित्या पछिल्लो पटक धनुषसँग फिल्म ‘इडली कडाई’ मा देखिएकी थिइन्, जसलाई दर्शकले निकै मन पराए। उनले विजय सेतुपतिसँग पनि काम गरिसकेकी छिन्। अभिनयसँगै उनले आफ्नै प्रोडक्सन हाउस पनि सुरु गरेकी छिन्।