डडेल्धुरा – सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र संस्कृति जगेर्ना गर्ने उद्देश्यले ‘डोट्याली संग्रहालय’ स्थापना गरिएको छ । डडेल्धुरा सार्वजनिक पुस्तकालयले यस्तो संग्रहालय निर्माण गरेको हो ।
२०६१ सालमा डडेल्धुरा सार्वजनिक पुस्तकालय स्थापना भएको थियो । पुस्तौंदेखि प्रयोग हुँदै आएका सामग्री संकलन गरेर संग्रहालयमा संरक्षण गरिएको छ । २०७३ सालबाट डोट्याली संग्रहालय स्थापना गरेर मौलिक सामग्री आउँदो पुस्तासम्म पुर्याउने प्रयास भइरहेको छ ।

सुदूरपश्चिमका ग्रामीण क्षेत्रबाट दैनिक उपभोगका वस्तु, पहिरन, चालचलन र परम्परागत अभ्यास क्रमशः लोप हुँदै गइरहेका छन् । आधुनिक जीवनशैली, बजारको प्रभाव र नयाँ पुस्ताको रुचि परिवर्तनसँगै पुराना सामग्री घरघरबाट हराउँदै जाँदा तिनको संरक्षण चुनौती बनिरहेको छ ।

समाजबाट हराउँदै गएका यस्ता पुराना सामग्री र प्रचलन संरक्षणका लागि पुस्तकालयले ‘डोट्याली संग्रहालय’ स्थापना गरेको जनाएको छ । पुस्तकालय प्रमुख पुष्करबहादुर देउवाले पुर्खाले प्रयोग गरेका सामग्रीलाई सुरक्षित राखेर भावी पुस्तालाई हस्तान्तरण गर्न संग्रहालय बनाइएको बताए ।
‘हाम्रा पुर्खाले प्रयोग गरेका लुगा, गरगहना, दैनिक उपभोग्य सामग्री, पुराना हतियार लगायतका वस्तु हराउँदै गइरहेका छन्,’ उनले भने, ‘ती वस्तु संकलन गरेर संग्रहालयमा राख्ने काम गरिरहेका छौँ ।’ संग्रहालयमा अहिले विभिन्न प्रकारका परम्परागत सामग्री राखिएका छन् । कृषिसँग सम्बन्धित हलो, जुवा, नाम्लो, दाम्लो जस्ता उपकरणदेखि लिएर निगालो र बाँसबाट बनेका डालो, सुप्पो, भकारी जस्ता अन्न राख्ने भाँडाकुँडा समेत यहाँ राखिएका छन् । यस्ता सामग्रीले ग्रामीण जीवनशैली र परम्परागत कृषि प्रणालीको झल्को दिन्छन् ।
पुरानो पुस्ताले प्रयोगमा ल्याएका पहिरन र गहना पनि आकर्षण बनेका छन् । महिलाका गुन्यु–चोली, पैसाको माला, अठन्नी–चौअन्नी जस्ता गहनाले सामाजिक र सांस्कृतिक अवस्था झल्काउँछन् । विवाह संस्कारसँग सम्बन्धित दुलही बोक्न प्रयोग गरिने डोली, परम्परागत जाँतो, ढिक्की तथा समय मापनका लागि प्रयोग हुने घडीपला जस्ता वस्तु पनि संग्रहालयमा राखिएका छन् । ती वस्तुले सुदूरपश्चिमको समाज कस्तो थियो, मानिसको जीवनयापन कसरी हुन्थ्यो, उनीहरूको पहिरन, खानपान र परम्परा कस्ता थिए भन्ने कुराको प्रत्यक्ष अनुभूति गराउँछन । २०७३ सालमा संग्रहालय स्थापना गर्ने अवधारणा आएको देउवाले जानकारी दिए । सुरुआतमा डिभिजन वन कार्यालयको सहयोगमा योजना अघि बढाइएको थियो । त्यसपछि अमरगढी नगरपालिकाले पनि सहयोग गरेको र अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिबाट समेत केही सामग्री प्राप्त भएको उनले बताए ।
‘वन कार्यालयबाट अवधारणा आयो, त्यसपछि नगरपालिकाले सहयोग गर्यो,’ देउवाले भने, ‘अहिले तारागाउँ विकास समितिबाट पनि केही सामग्री प्राप्त भएका छन्, जसले संग्रहालयलाई थप टेवा पुर्याएको छ ।’ उनका अनुसार, अमरगढी नगरपालिकाबाट ३–४ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको थियो । जसबाट विभिन्न सामग्री संकलन गरिएको हो । सामग्री संकलन जारी रहेको छ । गाउँ–गाउँमा पुगेर पुराना सामग्री खोज्ने र आवश्यक परे मूल्य तिरेर ल्याउने काम गर्दै आएको देउवाले बताए । ‘घरघरमा रहेका पुराना सामग्रीहरू खोजेर ल्याउँछौँ,’ उनले भने, ‘कसैले दिन चाह्यो भने दाताको नामसहित संग्रहालयमा राखिन्छ ।’
सामग्री संकलनका क्रममा केही चुनौतीहरू पनि देखिएका छन् । पछिल्लो समय गाउँघरमा व्यापारीले स्टिल र प्लास्टिकका भाँडाकुँडाहरू साटेर पुराना कासा र तामाका भाँडाकुँडाहरू लैजाने प्रवृत्ति बढेको छ । यसले गर्दा पुराना सामग्रीहरू तीव्र रूपमा हराउँदै गएको देउवाको भनाइ छ । संग्रहालयले स्थानीय समुदायसँग समन्वय गरेर सामग्री संरक्षण अघि बढाइरहेको छ । गाउँका मानिसलाई आफ्ना पुराना सामग्रीहरू जोगाएर राख्न र संग्रहालयमा उपलब्ध गराउन आग्रह गरिँदै आएको छ । अहिले पनि संग्रहालयमा नयाँ सामग्रीहरू थप्ने काम जारी छ ।
















