खाेज्नुहाेस

आत्मदाह र आत्महत्या कु-संस्कार

Image

मान सिंह धामी (औल्लेकी) – आज मलाई आत्महत्या र आत्मदाहकाे बारेमा सबैकाे मनमा आङ सिरिङ्ग हुने खालका कुराहरू लेख्न मन लागिरहेकाे छ । नितान्त रुपमा आत्महत्या र आत्मदाह फरक फरक विषयवस्तु हुन । मानवचाेला जस्ताे अमूल्य चाेला जीवनमा एक पटक मात्र पाइन्छ हाेला सायद ! याे लेख पढ्ने पाठकहरूलाई लाग्न सक्छ कि मनाेबैज्ञानीक वा मनाेचिकित्सककाे भनाई हाेला, याे लेखमा के रहेछ त ? पढी हालाैंन त भन्ने पक्कै पनि लाग्न सक्छ मनमा । तर विशुद्ध शिक्षण पेशामा संलग्न मनाेबैज्ञानीक र मनाेचिकित्सक नभई याे विषयवस्तुमा चाँसाे राख्ने जिज्ञासु भने पक्कै हुँ । आत्मदाह र आत्महत्या नित्तान्त फरक शब्द हुन् । “कु” भनेकाे नराम्राे भन्ने हुन्छ । अत: आत्मदाह र आत्महत्याकाे कुसंस्कार बढ्दै गइरहेको देख्दा मलाई अचम्म लागिरहेको छ ।

आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मको अर्थ स्वयम अथार्त आफै र हत्याकाे अर्थ खतम ,समाप्त हुनु हाे । यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ | यसमा व्यति स्वयं समाप्त हुन्छ । यसका विविन्न कारणहरु हुनसक्छन् । जस्तै :- शारीरिक, मानसिक, व्यबहारिकका साथै सामाजिक परिवेश आदि । शारीरिकमा शरीर सम्बन्धी समस्याहरु हुनसक्छ ।  जस्तै रोगहरु, लामो समयसम्म रोगको उपचार गराउदा पनि निको नहुदा मान्छेमा बाच्ने आशा हराउँछ र दिक्क मानी देहत्याग गर्छ । मानसिकमा पागलपन यसका प्रमुख उदाहरण हुन । व्यवहारिकमा मान्छेले गर्ने दैनिक व्यबहार पर्दछन् । ऋण, धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन ।

attariya hospital

सामाजिक रितिरिवाज, समाजले गर्ने ब्यबहार आदिबाट दिक्क भइ पनि मान्छे आत्महत्या गर्ने गर्दछन् । जस्तै कुमारीमै आमा बन्नु, हाडनाता करणी, जघन्य अपराध, समाजमा अपहेलित हुनु, बोक्सी भनि गलत ब्यबहार गर्नु । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्यागर्ने गर्दछन् । तर, यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोशिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा ।

धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सिधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एकप्रकारको मानसिक विकृति (Mental disorder) हो । हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ । संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौँ स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । आफ्ना अत्यन्त प्रियजनलाई बाँचुञ्जेल रुवाएर बैरीको शेख मार्छु भन्ने सोच सामान्य दिमागको उपज हुन सक्दैन । बैरीसँग बदला लिने त बाँचेर, संघर्ष गरेर हो, आफ्ना परिवारजनलाई आजीवन पीडा दिने बाटो रोज्नु भनेको उल्टै बैरीलाई खुसी बनाउनु हो । यो जान्दाजान्दै पनि मानिस किन आत्महत्या गर्छन् त ? भन्ने निकै गम्भीर प्रश्न छ ।

आत्मदाह :-

navjiwan hospital

आत्मदाह आफ्नो इच्छाबमोजिम आफ्नै जीवन अन्त्य गर्नका निमित्त शरीरमा पेट्रोल, मट्टितेल वा अन्य प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाई आत्महत्या गर्ने क्रुर विधि हो । शरीरमा आगो लगाएपछि शरीरका अधिकांश भाग जलेर, शरीरमा अक्सिजनको मात्रा समेत कम भई निस्सासिएर ७० प्रतिशतभन्दा बढीको मृत्यु हुने सम्भावना हुन्छ । विभिन्न तथ्याङ्क हेर्दा विकसित देशहरुमा आत्महत्याबाट हुने मृत्युमध्ये आत्मदाहबाट हुने मृत्यु एक प्रतिशतभन्दा कम छ भने न्यून र मध्यम आयस्तर भएका देशमा आत्मदाहको प्रवृत्ति निकै उच्च छ । इरानमा आत्मदाहबाट हुने मृत्यु अत्याधिक रहेको पाइन्छ । विश्व इतिहास हेर्ने हो भने ग्रिकमा सन् ८०० तिर नै आत्मदाहको प्रयास भएको देखिन्छ भने हिन्दु संस्कृति हेर्दा पनि सती प्रथाको इतिहास निकै पुरानो रहेको छ । बौद्द धर्ममा समेत मोक्ष प्राप्तिका लागि भन्दै आत्मदाह गरेको उदाहरण भेटिन्छ । अरब राष्ट्रहरुमा महिलामा हुने शोषण, जबरजस्ती, स्वेच्छामाथिको प्रतिबन्धका कारण आत्मदाह गरेको भेटिन्छ भने चीन, कोरिया र भियतनाममा राजनीतिक प्रतिकारका लागि आत्मदाह गरेका उदाहरण छन् । भारतकै कति राज्यमा युद्दमा परास्त हुने निश्चिततापश्चात् विपक्षी सैनिकहरुले दास बनाउने, जबरजस्ती करणी गर्ने, बन्धक बनाउने हुनाले आफूसँगै बच्चाहरुसमेत आत्मदाह गर्ने प्रचलन रहेको देखिन्छ ।

रोममा ‘देशभक्तिपूर्ण आत्महत्या’ स्वीकार्य थियो, सामान्य मानिसको आत्महत्यालाई अपराध मानिंदैनथ्यो । तर सङ्गीन अपराधमा आरोपित व्यक्ति, सैनिक र दासहरूलाई आत्महत्या गर्न निषेध थियो । यस्ता व्यक्तिले आत्महत्या गरे तिनको सम्पूर्ण जायजेथा राज्यले लिन्थ्यो अर्थात् सर्वस्वहरण गरिन्थ्यो । यूरोपमा आत्महत्या गरेर मर्नेलाई अपहेलना स्वरुप अलग्गै गाड्ने चलन मध्ययुगमा थियो । पुनर्जागरण कालसम्म आइपुग्दा आत्महत्यालाई अपराध मान्ने विषयमा धेरै परिवर्तन आएन । नेपाली समाजमा किराँतकालदेखि २०२० सालको मुलुकी ऐनले निर्दिष्ट गरुन्जेल आत्महत्या, यसको उद्योग वा दुरुत्साहनलाई अपराधको रूपमा हेरिएको छैन । याे लेख पाठकहरू समक्ष पेश गर्दैगर्दा नेपालकाे सतिप्रथाकाे बारेमा पनि थाेरै कुरा उल्लेखगर्नु सान्दर्भिक हाेला जस्ताे लाग्छ ।

प्राचीन हिन्दू समाजमा खासगरी शासकवर्गमा राजा महाराजाहरूमा मरेका पतिसँगै जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भनिन्थ्यो । राजाको मृत्यु भइसकेको र श्रीमानको शवसँग चितामा जीवित जल्नु–जलाइनुपूर्व निजले दिने श्राप नै सतीश्राप हो । समाजमा यस प्रकारको सतीप्रथा कहिलेदेखि चल्यो ? निश्चित भन्न सकिन्न । हिन्दूधर्मका अति प्राचीन ग्रन्थहरूमा सतीप्रथाको वर्णन पाइन्न र यदाकदा चर्चा पाइन्छ तर त्यसबेला सती जान बाध्यात्मक थिएन ।

राजा महाराजाहरूको मृत्युपछि मृतककी रानीहरुलाई श्रीमानको शव (लाश) सँगै अथवा अर्को चितामा सुताइन्थ्यो । यसमा राजनीतिक कारणले कुन रानीलाई सती पठाउने कुन रानीलाई नपठाउने भन्ने बारेमा पनि दाउपेच चल्ने गरेको इतिहास पाइन्छ । सती जानु अर्थात् मृतक श्रीमानसंग जीवितै चितामा जल्नुलाई सतीधर्म मानिन्थ्यो । भारतवर्षका गंगा, यमुना, जमुना लगायतका ठूला नदी किनारमा रहेका घाटहरूमा र नेपालका वाग्मती, कोशी, नारायणी, गण्डकी, कर्णाली, महाकाली लगायतका नदी किनारमा सती जाने गरिन्थ्यो । अस्ति दुईतीन महिना अगाडि नेपालमा पनि शरीरमा आगाे लगाएर आत्मदाह गरेकाे ज्वलन्त उदाहरण छ ।

याे लेखमा माथि जे जस्ता घटना, परिघटना, इतिहास, आफ्नाे अनुभव आदि लेखिए पनि आफै मर्ने मान्छे कायर डरपाेक हाे भन्ने मेराे बुझाई रहेकाे छ । त्यस्ता मान्छेकाे अगति हुन्छ । आत्महत्या र आत्मदाह त्यस्ताे व्यक्तिले गर्दछ, जाे जीवनमा नउम्कनेगरी ऋणमा चुर्लुम्म डुबेकाे, हाडनाता, जबरजस्ती करणी, कुनै राेग लागेर उपचार गर्दागर्दै लामाे समय सम्म पनि निकाे नभएमा बाँच्नु भन्दा मर्नु ठिक सम्झेर, मानसिक राेगहरू, अंशबण्डामा कुरा नमिल्नु, विभिन्न याैनदुराचार, जीवनमा कहिल्यै नमेटिने सामाजिक दाग, बाेक्सीकाे आराेप आदि कारणले पनि व्यक्तिले आत्मदाह र आत्महत्यागर्ने गर्दछन् । तसर्थ यस्ता समस्या आउन नदिन र यस्ता समस्याबाट बच्नकाे लागि सबैले बेलैमा सचेत हुनु जरुरी छ । साथै यस सम्बन्धी समाजमा जनचेतना फैलाउनु पनि जरुरी छ ।

मान सिंह धामी (औल्लेकी)
उप-प्राध्यापक
सुदूरपश्चिम विश्वविद्यालय
कैलाली बहुमुखी क्याम्पस धनगढी, कैलाली
स्थायी ठेगाना : मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला