खाेज्नुहाेस

आधुनिक औषधि विज्ञान र स्वास्थ्य चेतनाको जटिल वास्तविकता

Image
होम  राज खड्का  – आधुनिक युगमा औषधि विज्ञानले विशाल प्रगति गरेको छ। मानव सभ्यताले रोगसँग लड्ने क्षमता बढाएको छ, जीवनरक्षक औषधिहरू, अत्याधुनिक उपकरण, शल्यक्रिया प्रविधि, तथा डिजिटल स्वास्थ्य प्रणालीहरूले असंख्य जीवनलाई सुरक्षित बनाइरहेका छन्। तर यति धेरै उपलब्धिहरूका बाबजुद स्वास्थ्य समस्याहरू झन् जटिल र तीव्र बन्दै गइरहेका छन् भन्ने तथ्यलाई नकार्न सकिँदैन। यो विरोधाभासले एउटा गहिरो प्रश्न उठाउँछ।विज्ञान अगाडि बढिरहँदा मानिस किन पछाडि धकेलिँदै जाँदैछ ?
attariya hospital
वास्तवमा आधुनिक औषधि विज्ञानले शरीरका रोग देख्छ, जाँच गर्छ र उपचार गर्छ, तर मानिसको मन, विचार, चेतना र जीवनशैलीजस्ता मूलभूत पक्षप्रति भने मौन देखिन्छ। स्वास्थ्य भनेको केवल शरीरको अवस्था होइन, मन, व्यवहार, वातावरण र सोचको संयुक्त परिणाम हो। यसैलाई बुझ्न नसक्दा औषधि विज्ञानको विकाससँगै स्वास्थ्य समस्यामा पनि वृद्धि देखा परिरहेको छ। शरीर उपचार हुन्छ तर विचार स्वच्छ नहुँदा, जीवनशैली अनुशासित नहुँदा, मानसिक अवस्था सन्तुलित नहुँदा, औषधिले दिएको फाइदा टिकाउन सकिँदैन।
समाजमा अहिले एउटा गलत धारणा फैलिँदै गएको छ “जे भए पनि औषधि छँदै छ।” यस प्रकारको सोचले मानिसलाई आन्तरिक तौरतरिकाबाट विमुख गराएको छ। स्वस्थ रहनका लागि आवश्यक कुराहरू– सही खानपान, समयमै निद्रा, नियमित व्यायाम, सकारात्मक सोच, तनाव नियन्त्रण, प्रकृतिसँगको नजिक सम्बन्ध – यी सबैभन्दा मानिस टाढिँदै गएको छ। वैज्ञानिक उपलब्धिहरूलाई मात्र भरपर्दा स्वास्थ्यको वास्तविक आधार धरै कमजोर हुन्छ।
मानिस आज आफ्नो आन्तरिक संसार प्रति अत्यन्तै गैरजिम्मेवार भएको छ। विचारमा असन्तुलन, नकारात्मकता, तनाव, अतिचिन्ता र असन्तुष्टि शरीरलाई बिस्तारै दुर्बल बनाउँछन्। जसलाई विज्ञानले औषधिद्वारा उपचार गर्न खोज्छ तर मूल स्रोत मनमै रहिरहन्छ। औषधि विज्ञानको एकलौटी प्रयोगले रोगको लक्षण मात्र हटाउँछ तर रोग जन्माउने जीवनशैली, सामाजिक व्यवहार, मानसिक असन्तुलन र भावनात्मक विचलनलाई हटाउन सक्दैन।
प्रकृतिसँगको सम्बन्ध कमजोर हुनु आजका स्वास्थ्य समस्याहरूको अर्को प्रमुख आधार हो। मानिस शहर, धुवाँधुलो, बन्द कोठा र कृत्रिम वातावरणले घेरिएको छ। ताजा हावा, सूर्यको प्रकाश, माटो, जंगल, नदी जस्ता प्रकृतिका स्रोतहरूले मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई बलियो बनाउँछन्, तर ती सबैबाट मानिस टाढा बन्दै गएको छ। अक्सिजनको महत्व बुझ्न नसक्ने मानिस अस्पतालको ओक्सिजनको बोतलमा निर्भर भएको विडम्बनाले आजको स्वास्थ्य चेतनालाई स्पष्ट देखाउँछ।
navjiwan hospital
स्वास्थ्य अस्पतालमा मात्र भेटिने कुरा होइन। स्वास्थ्य त हाम्रो दिनचर्या, बानी, सोच र अनुशासनमा बस्छ। बिहान उठ्ने समयदेखि हिँडडुल गर्ने बानी, पानी पिउने तरिका, भोजनको छनोट, बोल्ने शैली, भावनाको व्यवस्थापन, सुत्ने–उठ्ने तालिकासम्म यी सबै स्वास्थ्यका आधारभूत स्तम्भ हुन्। जीवनशैली सुधार नगरी औषधि प्रयोग गर्नु भनेको भ्वाङ परेको भाँडोमा पानी भरेजस्तै हो–जसले कहिल्यै पूर्ण समाधान दिँदैन।
समाजमा स्वास्थ्यबारे चेतना अझै पनि पर्याप्त छैन। मानिसहरूले स्वास्थ्यका वास्तविक आधारहरू बुझ्न समय दिएको छैन। औषधि, सप्लिमेन्ट, टोनिक र प्रचारित वस्तुहरूलाई नै स्वास्थ्यको स्रोत मान्ने प्रवृत्तिले स्वास्थ्यलाई वस्तुमा रूपान्तरण गरेको छ। स्वास्थ्यको नाममा व्यापार बढेको छ तर स्वस्थ चिन्तन, सकारात्मक सोच, प्रकृतिसँगको सामिप्यता, सन्तुलित जीवनशैली र मानसिक स्पष्टताजस्ता विषय छायामा परिरहेका छन्।
मानव स्वास्थ्य मूलतः शरीर–मन–प्रकृतिको त्रिकोणमा टेकेको हुन्छ। शरीर स्वस्थ राख्न खानपान र व्यायाम महत्वपूर्ण छन्। मन स्वस्थ राख्न सकारात्मक विचार, आत्मविश्वास, सहनशीलता र ध्यान आवश्यक हुन्छ। प्रकृति स्वस्थ जीवनको आधारभूत स्रोत हो। यी तीनवटा पक्ष जब सन्तुलित हुन्छन्, तब मात्रै स्वास्थ्य पूर्ण हुन्छ। तर आधुनिक जीवनशैलीले यी तीनै पक्षलाई कमजोर बनाइरहेको छ।
बाह्य औषधिले रोग हटाउन सक्छ तर आन्तरिक चेतनाले रोग उत्पन्न नै हुन दिँदैन। जब मानिस आफ्नो भित्री संसार नबुझी बाहिरी औषधिमै भर पर्छ, तब स्वास्थ्य हरेक वर्ष झन् जटिल हुँदै जान्छ। तर जुन दिन मानिसले शरीरको संकेत सुन्न थाल्छ, मनलाई सन्तुलित राख्न सिक्छ, प्रकृतिसँग नजिक हुन्छ, पानी, हावा, सूर्य र समयको मूल्य बुझ्छ,त्यस दिन स्वास्थ्य फेरि स्वाभाविक रूपमा फर्किन्छ।
अन्ततः भन्नुपर्दा स्वास्थ्य विज्ञानको वास्तविक सार यही हो।स्वास्थ्य औषधिको भरमा होइन, शरीर–मन–प्रकृति तीनवटाको सन्तुलनमा बस्छ। विज्ञानले बनाएको औषधि उपयोगी छ, तर यसका सीमाहरू पनि छन्। स्वास्थ्यको दीर्घकालीन समाधान आन्तरिक चेतना, सकारात्मक विचार, स्वच्छ जीवनशैली र प्रकृतिको समर्पित निकटतामा मात्र सम्भव छ। मानिसले आफ्ना बानीहरू, आफ्नो सोच, आफ्नो जीवनशैली सुधार्न थालेपछि मात्रै आधुनिक औषधि विज्ञानले दिएको सुविधा सही अर्थमा सार्थक बन्छ। त्यसैले स्वास्थ्यप्रति जिम्मेवार बन्न, प्रकृतिप्रति नजिक बन्न र शरीर–मनको वास्तविक आवश्यकतालाई बुझ्न सकेमा मात्र आजको जटिल स्वास्थ्य चुनौती सरलतामा रूपान्तरित हुन्छ र जीवन फेरि स्वस्थ, सरल र स्वतन्त्र बन्छ।
होम  राज खड्का 
प्रधानाध्यापक, ज्ञान सागर माध्यमिक विद्यालय नेपालगञ्ज