मेराे घर ,
यता टाले उता चर्किन्छ न टाले भत्किन्छ।

फेरि पनि मेराे घर छाती भरि चम्किन्छ ।।
उ पारी डाँडापाखाेकाे भित्तामा
एक्लाे अडिएकाे छ एक कित्तामा ।
खेतबारीमा खर घाँस पलाकाे छ
सम्झिदा दिनरात मन जलाकाे छ।
अहिले सम्म ,
न त्यहाँ सडक पुग्याे।
न त बिजुली बल्याे।
न त पाखाे बाेल्याे।
न त सरकार सम्झ्याे।
न त उसलाई बिझ्याे।।
घरखेतकाे हालत हेर्दा आफैलाई लाग्छ ।
आज हाेकि भाेलि ढल्छ अनि त गल्छ ।
पाखाेबारीमा न त केही फल्छ
सत्ता संग न त मेराे केही चल्छ।
म त परे दुर्गम बस्तीकाे मान्छे
आमा मेरी त्यहि पाखाे खन्छे ।
म प्रवासिए देखि सम्झि रुन्छे
पुरानाे पछ्याैरि झिकि आँसु पुच्छे।
म फर्किने बाटाे हेरी सधैं दिन गन्छे।
गाउँमा भन्छन् अरे !
राजा फाले सत्ता ढाले नयाँ आए भन्छन ।
विदेशमा छाेरा पले तर गाउँमा सिंहदरबार ल्याए भन्छन।

मेराे घर ,
यता टाले उता चर्किन्छ न टाले भत्किन्छ ।
फेरि पनि मेराे घर आँखाभरि चम्किन्छ।।
बर्षाैं फेरिएन आमाकाे आङकाे च्यात्तिएको चाेलाे
बर्षाै भयाे कलकल सुसाएर बगेकाे खाेलाे ।
यहाँ न त चाेलाे फेर्ने काम मिल्याे
न त काेहिले खाेलाे थुनि बत्ति निकाल्याे ।
यहाँ ,
वलियाे विकासकाे जग हाल्ने छैन परिपाटी
बर्षैपिच्छे सत्ता तान्ने छल रच्छन जन्ता ढाँटिढाँटी।।
अब त मनमा लाग्न थाल्याे,
सच्चा आउँला र विकास गर्ला भन्ने कुरा झुट हाे ।
नेताहरु बाेले, गरे जस्ताे गर्ने बस् त्यहि चुनावी भाेट हाे ।
सत्ता पाए पछि यताउता चारैतिर लुट हाे।
विकास प्रेमि चिन्न नसक्नु पनि हामी सबैमा खाेट हाे ।
म संग छ
बस् म संग फ्रिज छैन घैंटाे छ
एसी छैन पछ्याैरिकाे टालाे छ
ग्यास छैन दाउराको चुलाे छ।
खेतबारी भिजाउने पुरानो कुलाे छ।
यही नै मेरा लागि सबैभन्दा ठुलाे छ ।।
मेराे घर ,
यता टाले उता चर्किन्छ न टाँले भत्किन्छ।
फेरि पनि मेराे घर आँखाभरि चम्किन्छ ।।
कृष्ण सिंह धामी, दार्चुला


















