अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सञ्चालित चार परियोजनाको सामाजिक लेखा परीक्षण, अवस्था विश्लेषण तथा निष्कर्ष आदानप्रदान गरिएको छ । आइतबार नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित परियोजनाको अवस्था विश्लेषण गरिएको हो ।
कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाको प्रमुख आतिथ्ययतामा भएको बैठकमा बाल संरक्षण, सामुदायिक संलग्नतामुखी स्पोन्सरसीप परियोजना, समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना, किशोरी समृद्धि सम्बन्धी किशोरी आधारभूत परियोजना र समावेशी शिक्षामा पहुँच (अपाङ्गता समावेशी) परियोजनाको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले शिक्षा, स्वास्थ्य, विकास, बालबालिका, अपाङ्गता भएका बालबालिका सबैलाई समेटेकाले परियोजना एकदमै महत्त्वपूर्ण रहेको बताइन् । उनले परियोजना सञ्चालन पछि कृष्णपुरमा बालबालिकाको क्षेत्रमा धेरै सुधार भएको बताइन् ।
उनले परियोजना मार्फत विकास निर्माणका काम शौचालय निर्माण, खानेपानी योजना पनि निर्माण भएकाले यस्ता काम सुरु गर्दा नगरप्रमुख सँगै उपप्रमुखलाई पनि सहभागी गराउँदा अझै उपयुक्त हुने बताइन् । उनले परियोजनाले गरेका काम बैठकमा भन्दा पनि फिल्डमै गएर आफूले अवलोकन गरेकाले संघसस्थाले नगरपालिका सँगको समन्वयनमा राम्रो काम भइरहेको बताइन् ।
एनएनएसडब्लुएका निमित्त कार्यक्रम निर्देशक विनोद जैरुको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका संयोजक रामेश्वर जैरुले ४ वटै परियोजनाको लेखाको अवस्था र गरेका कामबारेमा प्रस्तुति राखेका थिए भने सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. दीपक चन्द्र भट्टले परियोजनाको सामाजिक लेखा रिपोर्ट प्रस्तुत गरेका थिए ।

३ करोड २३ लाख ८० हजार खर्च
परियोजनाका संयोजक रामेश्वर जैरुले चार वटै परियोजना अन्तरगत एक वर्षका लागि ३ करोड ८२ लाख, ८२ हजार ७९५ रकम विनियोजन गरिएकोमा ३ करोड २३ लाख ८० हजार ३२४ रुपैयाँ खर्च भएको बताए ।
उनले कृष्णपुरका वडा नम्बर १, २, ४, ७ र ९ मा सञ्चालित बाल संरक्षण, सामुदायिक संलग्नतामुखी स्पोन्सरसीप परियोजना अन्तरगत ५ हजार ५१७ जना लाभान्वित भएको बताए । जसअन्तर्गत २ हजार ५ सय विद्यार्थीलाई स्कुल ब्याग, १८ जना बालबालिकाले आपतकालिन उपचार र राहत सहयोग, स्थानीय सरकारको साझेदारीमा अपाङ्गता भएका ७७ जनालाई परिचय पत्र र १३ जनालाई सहायक सामग्री सहयोग, १५ जना अपाङ्गता भएकालाई फास्ट फुड तालिम दिएर ७ जनाले व्यवसाय सुरु गरेको, ४७५ जनाले जिवनउपयोग सिप सिकेको, ६ बाल भेला, ५ बाल कचहरीमा ४५१ जना सहभागी भएर बजेट विनियोजनमा प्रभाव पारेको, वडा नम्बर १ मा २३ वटा बालमैत्री अभियानमा ५७५ जना सहभागि भइ बालमैत्री वातावरण निर्माणमा सक्रिय भएको, अभियान अन्तरगत १३० छाउगोठ भत्काइएको, ४ स्थानमा होर्डिङ बोर्ड राखिएको र ३ स्थानमा सडक नाटक गरिएको उनले बताए ।
संयोजक जैरुले कृष्णपुरका वडा नम्बर १, २, ४, ७ र ९ मा सञ्चालित समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना मार्फत ७ हजार ७० जना लाभान्वित भएको बताए । जसअन्तर्गत ४ हजार ७०१ जनाको स्वास्थ्य जाँच, १५ विद्यालयमा शैक्षिक सामग्री, ८ बाल विकास केन्द्रमा पहुँच योग सिकाइ सामग्री वितरण, शनिवारे पढाइ शिविर, सकारात्मक अभिभावकत्व सेसन, पंचाधिन माविमा नगरपालिका सँगको साझेदारीमा शौचालय निर्माण गरिएको उनले बताए ।

यस्तै कृष्णपुरका वडा नम्बर १, २, ४, ७ र ९ मै सञ्चालित किशोरी समृद्धि सम्बन्धी किशोरी आधारभूत परियोजना अन्तरगत ३ हजार १८२ जना लाभान्वित भएको बताउँदै संयोजक जैरुले जसअन्तर्गत ११६ जना किशोरीले यौन तथा प्रजनन स्वास्थ्य अधिकार तालिम लिएको, ५ विद्यालयका ५३२ विद्यार्थीलाई सेनेटरी प्याड, हट ब्याग, साबुन, किट वितरण, २ विद्यालयमा रेष्टिङ्ग रुम, कृष्णपुर सेभ हाउस र महाकाली अस्पताललाई सहयोग, २ विद्यालयमा शौचालय, एक विद्यालयमा खानेपानी ट्याकी मर्मत गरिएको बताए ।
यस्तै समावेशी शिक्षामा पहुँच (अपाङ्गता समावेशी) परियोजना अन्तरगत पनि २५२ जना लाभान्वित भएको र जसअन्तर्गत ९ जना अपाङ्गता भएका बालबालिका व्हील चियर वितरण, परियोजना सञ्चालनमा रहेको कञ्चनपुर सँगै कैलाली र बाँकेका ३० जनालाई अपाङ्गता तथा सामाजिक समावेशीकरण तालिम, २४ जनालाई आशाको किरण नामक तालिम दिइएको संयोजक जैरुले बताए ।
प्राध्यापक तथा सामाजिक परिक्षक डा. दीपक चन्द्र भट्टले परियोजनाको सामाजबाट राम्रो प्रतिक्रिया पाएको बताए । उनले परियोजना अन्तरगत भएगरेका कामकारबाहीहरुको बारेमा जानकारी लिन आफूले प्रत्यक्ष अनुगमन गरेको बताउदै अनुगमनका क्रममा आफूले लगानी अनुसारको प्रतिफल पाएको बताए । उनले अनुगमनका क्रममा स्थानीयहरुले पनि परियोजनाबाट सन्तुष्टी भएको प्रतिक्रिया दिएको बताए । उनले आफूले अवलोकनका क्रममा संस्थाले परियोजना अन्तरगत राम्रो कार्य गरेको भेटाएको बताए ।
उनले परियोजना सीमित क्षेत्रमा सञ्चालित भएकाले त्यसलाई अझै विस्तार गर्नुपर्ने सुझाव दिए । उनले भने ‘एकै वडाको एउटा विद्यालयका विद्यार्थी परियोजनाबाट लाभान्वित हुँदा छिमेकमा रहेको अर्को विद्यालयका विद्यार्थी नसमेटिँदा नराम्रो असर पर्ने भन्दै जुन क्षेत्रमा परियोजना सञ्चालन गरिएको हो । त्यो क्षेत्रका सबै विद्यालय समेट्नुपर्छ ।’

कार्यक्रम प्रभावकारी छन् : लाभग्राही
कार्यक्रममा लाभान्वित समुदायका तर्फबाट बोल्दै उदय माविका विद्यालय व्यवस्थापन समितिका सदस्य दिनेश पाण्डेले परियोजना अन्तरगत विद्यालयमा शौचालय निर्माण, खेलकुद सामग्री वितरण गरेको बताए । उनले परियोजना मार्फत आराम कक्ष (रेष्ट रुम) स्थापना भएकाले यसले पढाइमा निकै सहजता ल्याएको बताए । उनले कुनै समस्या हुँदा विद्यार्थीलाई घर पठाउनु पर्ने अवस्था रहेकोमा अहिले आराम कक्ष स्थापना भएपछि सहज भएको बताए । उनले परियोजनाले किशोरीहरूका लागि महिनावारी स्वच्छता कार्यक्रम अन्तरगत महिनावारी सुरक्षित किट वितरण गरेकाले सहज भएको बताए । विद्यालयमा परियोजनाले लैङ्गिक हिंसा सम्बन्धी तालिम दिएकाले अहिले विद्यार्थी खुलेर आफ्ना समस्या राख्न थालेको उनले बताए ।
एनएनएसडब्लुएकी सहजकर्ता जयन्ती भट्ट समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना लागु भएपछि विद्यार्थीहरू पढाइप्रति आकर्षित भएको बताइन । उनले अहिले बिहान ९० मिनेट बालबालिकाले बालगित गाउने, रोचक कथा सुन्ने, चित्र बनाउने, दिनभरि गरेका कामको टिपोट गर्ने क्रियाकलाप गरिदा सिकाइ प्रभावकारी भएको बताइन् ।
नगर स्तरिय बाल सञ्जालका सचिव टेक राज जोशी कृष्णपुरमा परियोजना लागु आएपछि क्षमता विकास भएको बताए । उनले परियोजना अन्तरगत बाल भेला, लागू पदार्थ सम्बन्धी कार्यक्रम, उद्घोषण तालिम, बालबालिकाका सवालका विषयमा अन्तरक्रिया लगायतका कार्यक्रम गरिएकाले बालबालिकाको क्षमतामा विकास भएको बताए ।
उनले कृष्णपुरमा रहेको छाउपडी प्रथा अन्त्यका लागि सडक नाटक देखाउने, छाउ गोठ भत्काउन आग्रह गर्ने काम गरिएको बताए ।
वैद्यनाथ बाल क्लवकी अध्यक्ष मिना धामी परियोजनाले बालबालिका आफ्ना सवाल उठाउन सक्षम भएको बताइन । उनले बालबालिकाले आफ्ना समस्या कहाँ राख्ने, कसरी आफ्ना सवाल उठाउने भन्ने बारेमा सक्षम भएको बताइन् ।

















