अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ पवित्र बस्तीमा तिज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । जनशक्ति महिला समूहको आयोजनामा मंगलबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख आतिथ्ययतामा तिज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री सार्कीले हिन्दु धर्मको संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले पछिल्लो समय तिजमा तडकभडक बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । ‘तिजमा तड्क भडक नगरौँ । तिजमा आफ्नै गक्ष अनुसार मनाउनु पर्छ’ उनले भने ‘तिजको संस्कृति जोगाउन आवश्यक छ ।’

जनशक्ति महिला समूहका अध्यक्ष गंगा विकको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा विभिन्न तिज गीतमा नृत्य प्रस्तुत गरिएका थिए । कार्यक्रमको प्रायोजक क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स अत्तरियाले गरेको थियो ।














