खाेज्नुहाेस

समग्र देशको चित्र–हाम्रो पहिचान, हाम्रो गौरव

Image

देश कुनै भौगोलिक सिमानाभित्र सीमित मात्र नभइ यसमा समेटिएको इतिहास, संस्कृति, जनजीवन, प्रकृति र भविष्यका सपना हुन् । नेपाल सगरमाथाको काखमा बसेको बुद्धको देश भनेर पनि हामी हाम्रो नेपाल आमालाई भन्ने गर्दछौ । नेपाल त्यस्तो देश हो जहाँ थुप्रै किसिमका जातजाति, भाषा, धर्म, संस्कृतिले भरिपूर्ण हाम्रो प्यारो देश हो । यो देशको हरेक भूगोल, हरेक संस्कृति, हरेक भेषभूषा र हरेक परम्परा मिलेर यस देशको चित्र कोर्छ ।

यो केवल नक्सा मात्र होइन कि यो चित्र पनि हो । जहाँ हिमाल, पहाड र तराई सबै मिलेर एकताको संगम स्थल पनि बनेको छ । जहाँ जातजातिको रुपमा पनि थुप्रै छन् । गुरुङ, क्षेत्री, मगर, नेवार र मधेसी गरि सम्पूर्ण जातजातिहरुको साझा पहिचान पनि बनेको छ । भनिन्छ नि, यहि विविधता छ, यहि एकता, यहि सांस्कृतिक सम्पदा यहि नै हो हाम्रो पहिचान र यहि पहिचान भित्र गर्व गर्नु नै हो हाम्रो गौरव ।

attariya hospital

आज म लगायत सबै आम नेपाली जन्ता हुनुमा हामी पनि गर्व गर्दछौँ । किनकी हाम्रो भाषा, हाम्रो पोसाक, हाम्रो संगीत, हाम्रो खानपान, रहनसहन आदि इत्यादि सम्पूर्ण तत्वहरुले हाम्रो राष्ट्रिय पहिचानलाई गौरवशाली बनाएको छ । हामी सबै नेपालीहरु मिलेर जात, धर्म भन्दामाथि उठेर एकतामा बाँधिएर आफ्नो देशको समग्र चित्रलाई अझ उज्यालो बनाउनुपर्छ भन्ने हामी सबैको धारणा पनि हो । हाम्रो यस नेपाल देशलाई विश्वभरि चिनाउनुपर्छ र हाम्रो देश नेपाल यस्तो देश हो जसलाई १२ महिना १३ पर्वको देश भनेर पनि भनिन्छ । सांस्कृतिक विविधता, जातीय विविधता र धार्मिक सहिष्णुताका कारण नेपालमा प्राय ः हरेक महिनामा कुनै न कुनै पर्व पर्छ र कहिलेकाहिँ त एउटै महिनामा एक भन्दा बढि पर्वहरु पर्ने भएकाले यो महिना १३ पर्व भन्ने चलनमा आएको पनि पाइन्छ ।

जहाँ चाडपर्वले मात्र होइन, सद्भाव, मेलमिलाप र सहकार्यले पनि हामीलाई त्यतिकै बाँधेको छ । हाम्रो देशमा जति राम्रो–राम्रो चाडपर्व मनाइन्छ त्यति नै राम्रो–राम्रो मेलमिलाप पनि घनिष्ठ छ । आज हामीले समग्र देशको चित्र भनेर जुन कुरा भनिरहेका अर्थात् गरिरहेका छौँ त्यो केवल चित्रमा मात्र सीमित नभएर त्यस चित्रमार्फत हिमालको उचाइ, तराईको उर्वरता अनि पहाडको सहनशीलता देखाईन्छ । त्यसैअनुसार त्यसै चित्रमार्फत पशुपतिनाथको शक्ति, लुम्बिनीको शान्ति अनि जनकपुरको संस्कृति र पोखराको सौन्दर्य पनि देख्न सकिन्छ । त्यसै गरि हाम्रो यस नेपालभित्र धेरै प्रकारका रमणीय÷स्मरणीय ठाउँहरु त कति छन् कति । हामीले नक्साको चित्रमार्फत नै धेरै कुरा सिक्छौँ/बुझ्छौँ र पाउँछौँ । जहाँ चाँदीझै टल्कने हिमाल, पहाडका वनजंगल तथा समथर तराईले हाम्रो नेपालको सुन्दरताको संकेत प्रदान गरेको छ । यो देश केवल एक राजनीतिक नक्सा मात्र होइन हामी सबैको साझा आत्मा पनि हो । त्यसैले हामीले हाम्रो आत्माको संरक्षण गर्नु पनि हामी सबैको कर्तव्य हो ।

जहाँ हामीले चित्र मात्रै होइन कि चित्रभित्र गहिरिएर हेर्दा थुपै्र कुरा सिक्छौँ र भेट्टाउने गर्दछौँ । हामीले आफ्नो पहिचानमा गर्व गर्नुपर्दछ किन कि हामी नेपाली भएर बाँच्न पाएका छौँ । जसरी हामीले आफ्नो पहिचानलाई सम्मान गरेका छौँ, त्यसैगरि अरुको पहिचानलाई पनि सम्मान गर्न सिक्नुपर्छ भनेर हाम्रो नेपाली आमाले हामीलाई सिकाउनुभएको छ । भनिन्छ नि देश प्रेम नारामा होइन कर्ममा देखाउनुपर्छ र देखिनुपर्छ । हामी सबै देशको लागि सच्चा र इमान्दार नागरिक बन्ने तर पत्रिकामा लेखेर भाषण गरेर मात्रै होइन सच्चा र इमान्दार बनेर देखाउनु ठूलो कुरा हो । जातीय द्वन्द्व होइन सद्भाव, संस्कृति र हाम्रो गौरवशाली पहिचानलाई विश्वभर अझै चिनाउन सकेपछि अझै उत्कृष्ट बन्दछ ।

हामी नेपालीहरुको आपसी सम्मान र सहकार्यको भावना नै हाम्रो गौरव हो र आज हामी जतिसुकै फरक ठाउँमा बसे पनि जति सुकै फरक भाषा बोले पनि तर हाम्रो अन्तिम पहिचान त हामी नेपाली हो र त्यो पहिचान, त्यो अस्तित्व हामी सबै नेपालीका लागि गर्वको कुरा हो ।

आजको दिनमा हामी देशको समग्र चित्रको कुरा गर्दा केवल भूगोल वा नक्सा सम्झनु मात्रै होइन यो चित्र भनेको हाम्रो आ–आफ्नो संस्कृति, भाषा, पहिचान र भावना हो जून हाम्रो सिङ्गो देशको आत्मा बन्दछ । जहाँ पहाडको साहस, तराईको उर्वरता र हिमालको गर्वले एकै साथ मिसिएर हामी नेपालीहरुको साझा चित्र या साझा फूलवारीको रुपमा चिनाउँछ । माथि भनेअनुसार पहाडको साहस भन्नाले पहाडी भू–भाग उकालो, दुर्गम र कठोर जीवनशैली भएको क्षेत्र हुनाले र यहाँका मानिसहरु साहसी, परिश्रमी र आत्मनिर्भर हुने हुँदा कठिन भूगोलमा पनि खेतिपाती, बस्ती र त्यसैगरि बाटोघाटो बनाउनमा पनि आफैमा साहसी हुन्छन् । त्यसै अनुरुप ऐतिहासिक रुपमा पनि गोर्खाली वीरता भनिएको हुँदा पनि पहाडसंग जोडिएको भनिएको छ । त्यसैगरि तराईको सन्दर्भमा भन्ने हो भने तराई समथर जमिन भएको खेतिपातिका लागि अति उपयुक्त क्षेत्र हो र नेपालका प्रमुख अन्न उत्पादन क्षेत्रहरु धान, गहुँ आदि प्रशस्त मात्रामा फल्ने हुँदा र त्यहाँको माटोमा अलि उर्वरता बढि भएको कारण जलवायु पनि खेतीको लागि अनुकूल मानिएको हुँदा तराईलाई उर्वरता पनि भनिएको मानिन्छ ।

हिमालको गर्व भन्नुको आशय पनि यहाँ प्रमुख रहेको छ । जहाँ हिमालक्षेत्र नेपालको प्राकृतिक सम्पदाको मूल स्रोतको रुपमा पनि लिइन्छ । जहाँ पानीका स्रोत, खानीजन्य सम्पदा, जडिबुटी, हिमनदी जस्ता अलौकिक स्रोत सम्पदा रहेका छन् । जुन जीवनका लागि अति महत्वपूर्ण रहेका छन् । गर्व शब्दले यहाँ सम्भावना स्रोत र अमूल्यवान वस्तुलाई पनि जनाउँछ । जस्तै : हिमालमा रहेका प्राकृतिक सौन्दर्य आदि माथिका यी सबै भनाइले नेपालका तीनवटै भू–भागहरुको प्राकृतिक विशेषता, मानवजीवन र योगदानलाई सन्तुलित ढंगले चित्रण गरेको पाइन्छ ।
धेरै कुराहरु हामीले सोच्नुपर्छ कि के हामीले यो सबै पहिचानलाई सम्मान गरेका छौँ त ? के हामीले आफ्नो गौरवलाई संरक्षण गरिरहेका छौँ ? अब एकैछिन सोच्नुहोस् त ! यदि छैन भने आउनुहोस् सबै नेपाली देशको एकता, संस्कृति र सम्पदालाई जोगाउने बाचा गरौँ । किनभने यहिँ सम्पदा नै हाम्रो साझा पहिचान र यहिँ पहिचान हामी सबैको गौरवको विषय पनि हो । फेरि हाम्रो नेपाल देश एक सुन्दर सांस्कृतिक र भौगोलिक रुपमा समृद्ध देश पनि हो । यहाँका हिमाल, पहाड र तराई मिलेर देशको समग्र चित्र पनि बनेको छ ।

हाम्रो देश विभिन्न प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुले नै हामीलाई गर्व गर्न योग्य एक असल सच्चा नागरिक बनाउनमा हामीलाई उत्प्रेरित बनाएको छ । आजको समयमा हामी सबैले एकता, सद्भाव र राष्ट्रिय भावना बलियो बनाउँदै हाम्रो देश नेपालको देशप्रेमको कार्यमा लाग्नुपर्दछ । हाम्रो देशको समग्र चित्रलाई अझ उज्यालो, अझै विश्वसामु चिनाउन हामी सबै नेपालीहरुको कर्तव्य हो । त्यहि चित्र, त्यहि सम्पदा र त्यहि विविधता नै हो हाम्रो पहिचान, हाम्रो गौरव । समग्र देशको चित्रको रक्षा गर्नु केवल संस्कार वा संस्थाहरुको जिम्मेवारी मात्र नभएर यो त हामी सबै नागरिकहरुको साझा कर्तव्य पनि हो । हामी सबै नेपालीहरुले हाम्रा भाषा, संस्कृति र परम्पराको संरक्षण, सुरक्षा र विविधतालाई आत्मसात गर्दै हाम्रो यस देशलाई एक बनाउनुपर्छ भनेर हामी सबैले एक भएर कार्य काम गर्नुपर्दछ ।

एकातिर आधुनिकताको गति सम्हाल्दै अर्काेतिर मौलिकतामा हराउन पनि सक्छ तसर्थ त्यसलाई लामो समयसम्म टिकाइ राख्नु नै पर्छ भन्ने हाम्रो असली जिम्मेवारी पनि हो । यहि सन्देश हामीले स्मरण पनि गर्नुपर्दछ र हाम्रो विविधता नै हाम्रो सम्पती हो र यहि सम्पती हाम्रो पहिचान हाम्रो गौरव पनि हो । आजको यथार्थता के छ भन्दा आधुनिक शिक्षा प्रविधिको कारण धेरै कुरामा विकास गर्न, हामीलाई धेरै कुरामा काम कार्यलाई सजिलो बनाएको छ तर हामी आफ्नो मौलिकता, हाम्रो गौरवशाली सांस्कृतिक सम्पदा र स्थानीय परम्परा विर्सदै गइरहेका पनि छौँ । आधुनिक शिक्षाले हामीलाई सजिलो त बनायो तर हाम्रो मौलिक परम्परा विस्तारै लोप पनि हुँदै गइरहेको त छ । त्यसैले हामीले आजैबाट आत्मसमिक्षा गर्नुपर्दछ की हामी अझै आफ्नो देशको समग्र चित्रलाई जोगाउन सकिरहेका छौ की छैनौँ । तर विविधतामा नै एकता हाम्रो ठूलो शक्ति पहिचान हो । यहि विविधता हाम्रो नेपाल देशको लागि सुन्दर पक्ष पनि मानिन्छ ।

navjiwan hospital

हामी नेपालीहरुको आपसी सम्मान र सहकार्यको भावना नै हाम्रो गौरव हो र आज हामी जतिसुकै फरक ठाउँमा बसे पनि जति सुकै फरक भाषा बोले पनि तर हाम्रो अन्तिम पहिचान त हामी नेपाली हो र त्यो पहिचान, त्यो अस्तित्व हामी सबै नेपालीका लागि गर्वको कुरा हो । त्यसैले हामी जतासुकै गएपनि तर हामीले आफ्नो भेषभूषा, भाषा, रहनसहन इत्यादि कुरालाई चाहिँ कहिले चाहेर पनि विर्सनु हुँदैन । किनकि हामी नेपाली हो त । हाम्रो देश नेपाल पनि एक विविधताले भरिएको आत्मसम्मान बोकेको असीम सम्भावनाको भूमिमा उभिएको पनि छ ।
इतिहासकै पृष्ठभूमिमा हेर्ने हो भने हाम्रो नेपाल देश इतिहासमय गौरवशाली छ । जहाँ वीर योद्धाहरुको बलिदानले देशलाई स्वतन्त्र पनि बनाएको थियो । मेरो देश नेपाललाई विविधता र एकताको असीम उदाहरणहरु प्रस्तुत पनि गरेको पाइन्छ । जहाँ लोककला, नाचगान, चाडपर्वहरुले हाम्रो पहिचानलाई उच्च स्थानमा राखेर विश्वसामु झल्काउने गर्दछ र हामी नेपाली हौ भन्न पनि गर्व लाग्दछ ।

हामी सबै यो देशका नागरिक हौँ र हामी सबैले आफ्नो कामप्रति इमानदार हुनु, नियमको पालना गर्नु र भाषा–संस्कृतिको सम्मान गर्दै नकारात्मक सोचको अन्त्य गर्दै गयौँ भने हामी नै सच्चा देशभक्तिको उदाहरण पनि बन्न सक्छौँ ।

अहिले देशविकासको यात्रामा अग्रसर पनि भइरहेको छ । शिक्षा, स्वास्थ्य र सूचना प्रविधि जस्ता कुरामा निकै विस्तार हुँदै आएको भएपनि भ्रष्टाचार, असमानता जस्ता समस्याहरु अझै पूर्ण रुपमा रोकिएको छैन । हाम्रो देशको भविष्य उज्यालो बनाउनका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहेको हुनाले अब देशको विकासका लागि इमान्दार कर्तव्यनिष्ठ र देशभक्त नागरिक चाहिँ निकै आवश्यक रुपमा देखिन थालेका छन् । हाम्रो यो नेपाल देशलाई आफ्नो अस्तित्व मान्दै र आफ्नो आत्मासरह लिदै हामी सबैले मिलेर देशको समग्र विकासमा हातेमालो गर्दै देशलाई अगाडि बढाउनु पर्दछ ।

हामीले शिक्षा एकता इमान्दारिता र सकारात्मक सोचका साथ हामी हाम्रो देशलाई समृद्ध र स्वाभिमानी बनाउने जो सपना बोकिरहेका छौँ, त्यसलाई हामी सबै नेपाली मिलेर साकार पार्नु पर्दछ भन्ने हामी सबैको सोचाइमा अझै पनि छ । सगरमाथा हाम्रो देशमा छ अनि बुद्धको जन्मभूमि पनि हामै्र देशमा छ । त्यहि भएर पनि नेपाललाई शान्तिको देश भनेर भन्ने गरिन्छ । यो हाम्रो मात्रै गौरवको कुरा होइन पुरै संसारको अर्थात् यो देशको कुरा पनि त हो । हाम्रो यस नेपाल देशलाई चिनिदै आएको छ तर वास्तवमा आजको यथार्थमा भन्ने हो भने शिक्षा, प्रविधि, पूर्वाधारजस्ता केहि क्षेत्रमा केहि मात्रामा मात्र सुधार त देखिन्छ तर ती सबै पर्याप्त छैन । अझै धेरै युवा रोजगार नपाएर विदेश जान पनि बाध्य बनेका छन् । नेपालमा विकास त भयो तर पूर्ण रुपमा भएन । यदि नेपालमै पूर्ण रुपमा विकास भयो भने किन युवाहरु विदेश पलायन हुन्थे तर अब देश बनाउने काम नेताहरुको मात्र होइन हामी सबै नागरिकको महत्वपूर्ण भूमिका पनि रहेको यहाँ देखिन्छ ।

हामी सबै यो देशका नागरिक हौँ र हामी सबैले आफ्नो कामप्रति इमानदार हुनु, नियमको पालना गर्नु र भाषा–संस्कृतिको सम्मान गर्दै नकारात्मक सोचको अन्त्य गर्दै गयौँ भने हामी नै सच्चा देशभक्तिको उदाहरण पनि बन्न सक्छौँ । हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन थाल्यौँ भने समग्र देशको चित्र अझ सुन्दर उज्यालो र आत्मनिर्भर बनाउन र बन्न सक्छौँ । हामीले हाम्रो सम्पदा, हाम्रो संस्कृति र हाम्रो सहिष्णुता जोगाएर राख्नुपर्छ किनभने हाम्रो गौरव जन्मिन्छ र हामी नेपाली हुनुमा गर्व पनि गर्दछौँ ।

देश भनेको केवल शासन व्यवस्था नक्सा वा झण्डामा मात्र सीमित होइन की यो त जनताको आत्मा, संस्कार र समर्पणले बनेको साझा घर पनि हो । हाम्रो देश नेपाल एउटा यस्तो मुलुक हो जसले संसारलाई बुद्ध, साहस, सहिष्णुता र प्रकृतिको अपार सम्पदालाई पनि झल्काउने गर्दछ । हिमालको काखदेखि तराईको समथर जमिनसम्म फैलिएको यो देशले हामी सबैका सपनाहरु आफ्नो काखमा बोकेको छ । आजको नेपालले धेरै उतारचढावको सामना गरिसकेको छ र लोकतन्त्रको लडाइ, संविधानको स्थापना, महामारीको समय र हालको आर्थिक चुनौती यी सबै घटनाले देशको चित्रलाई गहिरो बनाएको छ ।

प्रत्येक घटनाले हामीलाई केहि न केहि सिकाएको छ । जस्तै : सहनशीलता बन्न, एकताको अर्थ बुझ्न र देशभित्रै केहि गर्ने आँट गर्न । यी सबै काम हामीलाई विभिन्न घटनाले सिकाउँदै आएको छ र अझै सिकाइ रहेको पनि छ । यो देश केवल माटोको टुक्रा होइन यो त हाम्रो अस्तित्व, हाम्रो शान र हाम्रो स्वाभिमान पनि हो । हाम्रो लवाइ–खवाइ, रहनसहन सबै हाम्रो पहिचानले नै हाम्रो संस्कृतिलाई झल्काउँछ र हामी आफैँमा गर्व गर्दछौँ किनभने हामी नेपाली भएर बाँच्न पाएका छौँ ।

नेपाल भौगोलिक रुपमा अत्यन्त सुन्दर र विविधताले भरिपूर्ण देश पनि हो । जसरी एउटा मौरीले मह बनाउन भरिभराउ सुन्दर फूलवारी खोजिरहेको हुन्छ त्यसै गरि हामीले पनि हाम्रो देशलाई एउटा सुन्दर फूलवारी झैँ सुन्दर बनायौँ भने पक्कै पनि हाम्रो देश नेपाल शृङ्गारिक रुपमा अनुपम बन्न सक्छ । यो सांस्कृतिक फूलवारीमा हामीले विविधतामा एकता भन्ने मूलमन्त्र पनि हामीले आत्मसाथ गरेका छौँ । यहि एकता हाम्रो देशको मौलिकता हो, जसले बाहिरका संसारलाई पनि नेपालप्रति आकर्षित बनाएको छ । वास्तवमा भन्ने हो भने नेपालीहरु पराजित भएको कुनै इतिहास छैन । नेपाल देश निर्माण गर्नमा एउटा अविस्मरणीय नाम हो पृथ्वीनारायण शाह । उहाँले देशको एकीकरण गर्दा प्रयोग गरेको शब्द थियो कि नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो । यो भनाइ आज पनि हामी सबै नेपाली माझ सान्दर्भिक छ ।

नागरिक चेतना, युवा पुस्ताको लगनशीलता र नेताहरुको दुरदृष्टि मिलेर मात्र समग्र देशको चित्र अझै उज्यालो बनाउन सकिन्छ । हामी सबैको सानो प्रयास मिलेर ठूलो परिवर्तन ल्याउन सक्छौँ । देश बनाउने काम केवल सरकारको मात्र नभएर जनताको पनि हो । आजैबाट हरेक नागरिकले राष्ट्रलाई आफ्नो घर जस्तै सोचेर काम गर्नुपर्दछ । किनकि देशको माया केवल बोल्ने कुरा होइन यो त गर्ने कार्य पो हो ।

समग्र देशको चित्र भन्नाले हामी सबैको समष्टिगत प्रतिबिम्ब हो । हाम्रो प्रकृति, हाम्रो संस्कृति, हाम्रो इतिहास, हाम्रो चुनौती र हाम्रो सपना पनि यहि हो । यो चित्र हाम्रो पहिचानका साथसाथै गर्वको आधार पनि हो । अब आउनुहोस् हामी सबै मिलेर यो चित्रलाई अझ उज्यालो बनाऔँ र कर्म, माया र जिम्मेवारीका रंगले सजाऔँ । किनकि हाम्रो पहिचान गर्व गर्न सकियोस् र साँच्चिकै अतुलनीय र अविस्मरणीय छ भनेर भन्न सकियोस । समग्र देशको चित्र हाम्रो पहिचान, हाम्रो गौरव भन्नुको खास कारण यो छ कि नेपाल यस्तो विशेष देश हो जसको समानता संसारका कुनै पनि देशसंग गर्न सकिदैन । किनभने यसमा भएको सौन्दर्य, संस्कृति, विविधता र भावना अरु कतै कुनै देशमा पनि पाइदैन । त्यसैले नेपाललाई समग्र देशको चित्र हाम्रो पहिचान हाम्रो गौरव भन्न सकिएको हो ।

(लेखक दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन ।)