खाेज्नुहाेस

हलिउडका ‘थोर’ एमसीयूबाट बिदाइ हुन लागेका हुन् ?

Image

हलिउड अभिनेता क्रिस हेम्सवर्थले भावुक पोस्ट गरेर फ्यानलाई स्तब्ध तुल्याएका छन् । आफूले अबदेखि मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू) मा थोरको भूमिका निर्वाह नगर्ने उल्लेख गरेका छन् । उनको यस्तो पोस्टपछि फ्यानले कथामा नयाँ ट्विस्ट आउनसक्ने अनुमान गरिरहेका छन् ।

यसपछि एमसीयूका फ्यानहरूको आँखा रसाएको छ भने अर्कोतर्फ, ‘एभेन्जर्स : डूम्सडे’ मा थोरको मृत्यु हुन्छ कि हुँदैन भन्ने अड्कलबाजी सुरु भएको छ । के यो मार्भल स्टुडियोले ‘एभेन्जर्स : एन्डगेम’मा आइरन म्यानको चरित्रलाई अन्त्य गरेको जस्तै हुनेछ ?

attariya hospital
navjiwan hospital

हेम्सवर्थले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो पोस्ट गरेका छन्, जसले फ्यानहरूलाई भावुक बनाइरहेको छ । भिडियो सेयर गर्दै अभिनेताले लेखेका छन्, ‘थोरको भूमिका निर्वाह गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो । विगत १५ वर्षदेखि मैले जोलनिर र त्यसपछि स्टोर्मब्रेकरलाई ‘गड अफ थन्डर’को रुपमा सम्हाल्दै आएको छु । यस पात्रप्रतिको तपाईंको जोश, हौसला र माया नै मेरो लागि सबैथोक हो । मार्भल सिनेम्याटिक ब्रह्माण्डमा मेरो यात्रालाई अविस्मरणीय उत्सव बनाउनुभएकोमा धन्यवाद । आउँदैछ डूम्स डे ।’

यद्यपि, हेम्सवर्थले अहिले सेयर गरेकोे भिडियो वास्तवमा दुई वर्षअघि ‘थोर : लभ एन्ड थन्डर’ को प्रचारको एक हिस्सा थियो । तर अभिनेताको यो पोस्टले इन्टरनेटमा फ्यानहरूमाझ हलचल मच्चाएको छ । थोरको कथा आगामी ‘एभेन्जर्स : डूम्सडे’ मा समाप्त हुन्छ कि हुँदैन भन्ने बारेमा अड्कलबाजी सुरु भएको छ ।

अनलाइनमा फैलिएका हल्लालाई हेर्दा ‘एभेन्जर्स : डूम्सडे’ एउटा यस्तो एमसीयू फिल्म हुनेछ जसमा धेरै मनपर्ने पात्रहरू हराउन सक्छन् । यद्यपि, मार्भल स्टुडियोले यसबारे पुष्टि गरेको छैन । दर्शक मार्भल स्टुडियोका फिल्महरू ’एभेन्जर्स : डूम्सडे’ र त्यसपछि ’एभेन्जर्स : सेक्रेट वार्स’को उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । यी फिल्महरूको छायांकन हाल बेलायतमा रुसो ब्रदर्स अर्थात् जो र एन्थोनी रुसोको निर्देशनमा भइरहेको छ ।

यसलाई मार्भल मल्टिभर्समा एकदमै विशेष फिल्म मानिएको छ । यी फिल्महरूसँगै, रोबर्ट डाउनी जूनियर फेरि एक पटक एमसीयूमा फर्कदैछन् । पहिले उनी पर्दामा आइरन म्यानको भूमिका निर्वाह गर्थे भने अब उनी डाक्टर डूमको भूमिकामा खलनायकको रूपमा देखिनेछन् ।