एजेन्सी- पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकाको फ्लोरिडामा हत्याको प्रयास भएको छ । फ्लोरिडाको एक गल्फ कोर्समा रहेका बेला उनको हत्या प्रयास भएको एफबीआईले जनाएको छ ।

एफबीआईका अनुसार झाडीबाट राइफलको नाल छिराएर २ सय ७५ देखि ४ सय ५५ मीटर टाढा रहेका ट्रपमाथि गोली प्रहार भएको थियो । घटनास्थलमा एक एके ४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका बीबीसीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।

राइफलसहित झाडीबाट निस्केर गाडी चढी भाग्न खोज्ने क्रममा उनलाई केहीपर पुगेपछि गोली हानेर पक्राउ गरिएको हो । अनुसन्धानकर्ताहरुले यस घटनाको अनुसन्धान जारी राखेको बताएका छन् । ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाको बारेमा जानकारी दिएको छ ।
घटनापछि ट्रम्पले आफ्नो समर्थकहरूलाई इमेलमार्फत आफू सामान्य अवस्थामा सुरक्षित रहेको जानकारी दिएको खबरमा उल्लेख छ । पूर्व राष्ट्रपति ट्रम्पलाई दुई महिना अघि पेनसिल्वेनियामा पनि गोली हानि हत्याको प्रयास भएको थियो ।
















