एजेन्सी- रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमत भएका हुन् ।


दुई दिने भ्रमणका लागि मोदी हिजो रुस पुगेका थिए । पुटिनसँग भएको भेटवार्तामा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल गरेका थिए । छलफलका क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस्तै दुई नेताबीच आपसी व्यापारका विषयमा पनि छलफल भएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको मोदीले पहिलो पटक रुस भ्रमण गरेका हुन् । रुस भारतमा तेल र हतियारको प्रमुख आपूर्तिकर्ता हो ।

पश्चिमा देशले रुसलाई प्रतिबन्ध लगाएको र चीनसँग रुसको बढ्दो निकटताकाबीच भारतीय प्रधानमन्त्रीले रुस भ्रमण गर्नुलाई विश्व जगतमा चासोका साथ हेरिएको छ ।