अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको खप्तड विद्या निकेतनले धान दिवस मनाएको छ । आईतबार विद्यालयमा अध्ययनरत विद्यार्थी एवम् शिक्षकहरुले खेतमा गएर रोपाई गर्दै दिवस मनाएका हुन ।
विद्यालयका सञ्चालक श्याम खत्रीले विद्यार्थीहरुलाई कृषि सम्बन्धी कुराहरु सिकाउने अवसरका रुपमा धान दिवसमा रोपाई गरिएको बताए । उनले कृषि प्रधान देशमा विद्यार्थीहरुलाई कृषिमा पनि आवद्ध गराउनुपर्छ भन्ने आफुहरुको सोच रहेको बताए ।


‘कृषि प्रधान देश भएर विद्यार्थीहरुलाई कृषिमा पनि आवद्ध गराउनुपर्छ, सानो समयले पनि आफ्नो लागि आवश्यक खाद्यान्न उत्पादन गर्न सकिन्छ, खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्छ भन्ने उद्देश्यका साथ विद्यार्थीहरुलाई रोपाईमा संलग्न गराएका हौ’ उनले भने ।
उनले विद्यार्थीहरुको सिकाईका लागि करिब ५ कट्टा जमिनमा रोपाई गरिएको बताए । उनले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा रोपाईमा संलग्न गराउँदा धान दिवसको महत्वमाथी प्रकाश पार्न अझै सहज हुने बताए ।
उनका अनुसार रोपाईमा कक्षा ८ देखी १० सम्मका विद्यार्थीहरुको संलग्नता रहेको थियो । उनले अन्य कक्षाका बालबालिकाहरुको पठनपाठन जारी रहेको पनि बताए । धान दिवस शनिबार परेको भएपनि उक्त दिन बिदा भएका कारण आईतबार दिवस मनाएको खत्रीको भनाई छ ।
















