बैतडी – महाकाली नदीमा डुबेर बैतडीकी एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन् । शनिबार नदीमा डुबेरे शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिएका छन ।

शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी थिइन । उनी डुबेको केही बेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले उनको शव फेला पारेको थियो ।
रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएकी छिन ।

बेपत्ता अस्मिताको खोजी भइरहेको प्रहरीले जनाएको छ । अस्मिताको खोजीका लागि स्थानीय बासिन्दासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको प्रवक्ता पाण्डेले बताए ।

















