अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ ले वडामा रहेका शहिद तथा वेपत्ता भएका व्यक्तिका परिवारलाई उन्नत जातका बाख्रा वितरण गरेको छ । वडा कार्यालयले मंगलबार गणतन्त्र दिवसको अवसर पारी वडामा रहेका शहिद तथा वेपत्ता भएका व्यक्तिका ८ वटा परिवारलाई बाख्रा वितरण गरेको हो ।
गणतन्त्र ल्याउनका लागि जनयुक्त सहभागि भएर ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई उन्नत जातको बाख्रा वितरण गरिएको वडाध्यक्ष अर्जुन साउँदले जानकारी दिए । उनले त्यस्ता परिवारहरुको आर्थिक अवस्था सृदृढ बनाउन वडाका तर्फबाट निःशुल्क रुपमा बाख्रा वितरण गरिएको बताए ।
शहिदकै बलमा देशमा गणतन्त्र स्थापना भएको स्मरण गर्दै उनले गणतन्त्र ल्याउन अहम भुमिका निर्वाह गर्ने व्यक्तिका परिवारका बालबालिकालाई विद्यालयमा पठनपाठनमा पनि सहजता ल्याउने काम गरेको बताए । उनले उनिहरुको पढाईमा सहुलियता ल्याउने उद्देश्यले छात्रवृत्ति प्रदान गर्ने, कम्प्युटर तालिम प्रदान गर्ने र महिलाहरुलाई सिपमुलक तालिम दिने कार्य गरिरहेको बताए ।