काठमाडौं – आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ । तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्ध र संसदवादी सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासनसत्ता छाडेर २०६३ वैशाख ११ गते संसद् पुनःस्थापना गरेका थिए । त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरियो।

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीकै अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको हो ।

समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत छन् ।

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ। यो वर्षको तीन दिन (जेठ १४, १५, १६ गते) नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमगर्ने निर्णय भएको छ ।