कञ्चनपुर – कञ्चनपुरको बनहरा नदीमा पक्की पुलको निर्माण थालिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने उक्त नदीमा २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको हो ।
दुई वर्ष अघि उक्त नदीमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भैसकेको थियो । तर ठेक्का अवधी सकिन एक वर्ष बाँकी हुँदा मात्रै काम सुरु भएको बताईएको छ ।


पुल निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले पिलर ठड्याउन पाईलिङ भईरहेको बताए । उनले वर्खा अगावै पिलर खडा गरिने पनि बताए । उनले सम्झौता अनुसार काम हुनुपर्नेमा केही ढिलाई भएको बताए । ‘सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गर्नुपर्ने हो’ उनले भने ‘ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी छ, एक वर्षभित्र जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेकाका छौँ ।’
वर्खायाममा नदी तर्न नसकेर समस्याग्रस्त बनेका स्थानियबासीहरुले नदीमा पुल निर्माण हुदै गर्दा राहतको सास फेरेका छन । वडाध्यक्ष नवलसिंह रानाले नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघिको बाढीमा क्षतिग्रस्त हुँदा समस्या भएको बताए । उनले जसका कारण तिलकी, दुवाहा र दमलपट्टिका बासिन्दालाई नदी तर्न निकै सास्ती खेप्नुपर्ने बताए ।
उनले नदी तर्न बनाईएको अस्थायी पुलमा शुल्क तिरर आउजाउ गर्ने स्थानियहरुलाई पुल निर्माणले राहत भएको बताए । उनले वर्खामा जोखिम मोल्दै नदी तर्नुपर्ने बाध्यताको अन्त्य हुने समेत बताए ।
















