कैलाली –कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलब नपाएको बताएका छन् । स्वास्थ्यकर्मीले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाए पनि त्यसयताको भने तलब पाउन नसकेका हुन ।


गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या भएको बताए ।

सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले बजेटको अभाव देखाउँदै रोकिदिएको छ । सङ्घीय सरकारबाट आर्थिक वर्षको सुरुमै आउनुपर्ने पर्याप्त बजेट नआएपछि समस्या भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले सङ्घीय तहबाट आउनुपर्ने बजेट समयमा आउन नसकेका कारण समस्या देखिएको बताए ।
