खाेज्नुहाेस

आजदेखि बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका बालबालिकालाई आजदेखि दादुरा–रुबेला खोप लगाइने भएको छ । नगरपालिकाले आजदेखि फागुन २१ गते सम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । खोप अभियान सञ्चालन गर्न गोदावरीमा ९५ वटा केन्द्र तोकिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन । उनले अभियान अन्तरगत ४० हजार ८०४ बालबालिकालाई खोप लगाइने बताए ।

खोप अभियानको आइतबार वडा नम्बर १ मा रहेको घण्टेश्वर माविबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । नगरका अन्य खोप केन्द्र पनि विद्यालयमै तोकिएका छन । अभियानमा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिका समेटिने छ । अभियान सञ्चालनका लागि ११३ जना स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

attariya hospital

दादुरा–रुबेला विरुद्धको खोप अभियान अन्तरगत तराइका २१ जिल्ला र काठमाण्डौं उपत्यका भित्रका ३ जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई लगाइँदै छ भने बाँकी ५३ जिल्लाहरुमा भने ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइदै छ । कैलालीमा यो अभियान अन्तरगत २ लाख ५८ हजार १ सय ६५ बालबालिकालाई खोप लगाइँदैछ । जिल्लाका १३ वटै पालिकामा खोप अभियान सञ्चालन गर्नको लागि ९६४ खोप केन्द्र तोकिएका छन । जसमा २९२ स्वास्थ्यकर्मी र १ हजार ९२८ स्वयंसेवक परिचालन गरिदै छन ।

navjiwan hospital

यस्तै कञ्चनपुरका ९ वटै पालिकाका ५ सय ५३ स्थानबाट खोप अभियान सञ्चालन गरिने जनाइएको छ । उक्त अभियान अन्तरगत १ लाख ३८ हजार ११२ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि खोप लगाइने छ । सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य छ । सरकारले खोप अभियान सञ्चालन गर्न दादुरा–रुबेला खोप अभियान २०८०–०८१ कार्यक्रम सञ्चालन निर्देशिका तयार गरेको छ । नेपालमा दादुरा रोगको सुरुवात सन् १९८८ बाट भएको थियो । सोही समयदेखि नेपालमा खोपसेवा सञ्चालन गरिदै आइएको छ ।

नेपालमा सन २०२२ मा दादुरा–रुबेला खोप पहिलो मात्रा र दोस्रो मात्राको कभरेज ९० प्रतिशत भएपनि बिरामीको संख्या वृद्धि भएपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो । नेपालमा २०७९ मंसिर देखि २०८० मंसिर सम्म १ हजार ३४९ जनामा दादुरा देखिएको छ । जसमा कैलालीमा ५६, कञ्चनपुरका ३८, बाजुराका १८ जना रहेका छन ।

सुदूरपश्चिममा कैलाली कञ्चनपुर दादुरा–रुबेलाको उच्च जोखिममा रहेका जिल्लाका रुपमा पहिचान गरिएको छ भने डोटी, डडेल्धुरा, बैतडी, अछाम, बाजुरा, बझाङ र दार्चुलालाई न्यून जोखिम भनी पहिचान गरिएको छ । सुदूरपश्चिममा ४ लाख ९० हजार २५२ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य लिइएको छ ।

यो खोप लगाउँदा कुनैकुनै बालबालिकामा ४–५ घण्टापछि हल्ला ज्वरो आउने, खोप लगाएको एक हप्तासम्म दादुराको जस्तै बिमिराहरू आउने हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन । यस्तै पहिले दादुरा–रुबेला खोप लगाउँदा गम्भिर प्रकारका असर देखिएका, एड्सका जटिल लक्षण देखा परेका, ज्वरो आएका, सिकिस्त बिरामी भएका बालबालिकालाई भने खोप लगाउन नहुने खोप अभियान सञ्चालन कार्यविधिमा उल्लेख छ ।