कृषि क्रान्ति गरिरहेका चौधरी दम्पती : केराखेतीदेखि बाख्रा पालनसम्म

अत्तरिया- कैलालीको धनगढी उपमहानगरपालिका-५ सुनाखरी टोलका सोनू चौधरी र बिन्तिराम चौधरी दुबै दम्पती कृषिमा जुटेका छन् । घरमा दुई जना दम्पती मात्र रहेका उनीहरुको दिनचर्या कृषि कार्यमै बित्ने गरेको छ । एक छोरा र चार छोरी गरी पाँच जना छोराछोरी भए पनि उनीहरु पढाइको सिलसिलमा काठमाडौँमा रहँदा यता चौधरी दम्पती भने खेतीपातीको काममा व्यस्त रहेका हुन् । निकै हँसिलो मुद्रामा देखिने सोनू भन्छिन्, ‘छोराछोरी काठमाडौँमा पढ्छन्, हामी बुढाबुढी मात्रै छौँ यता । बाख्रा, बंगुर सबै पाल्या छौँ, केरा, तरकारीहरु पनि लाएकै छौँ, भ्याइनभ्याइ छ, हामी दुईटै मात्र भयौँ ।’

maya metro hospital

citizen security services

१३ कट्ठा जमिनमा केराखेती
सोनू र बिन्तिरामले १३ कट्ठा जमिनमा केराखेती गरेका छन् । सुरुमा कमै क्षेत्रफलमा केरा लाएर खेती गर्न थालेका उनीहरुले बिस्तारै केरा लाउने जमिनको क्षेत्रफल बढाउँदै लगेका हुन् । केराखेतीबाट उनीहरुले राम्रो आम्दानी लिइरहेका छन् । ‘पोहोर साल तीन लाखभन्दा बढीको केरा बेच्या थ्यौँ, यो साल चिसोले गर्दा त्यति राम्रो भाछैन, तर पनि तीन लाख त आइहाल्छ यसपाली पनि’, सोनूले भनिन् । उनीहरुसँग सिँचाइका लागि आफ्नै बोरिङ छ । जोत्नलाई च्याम्फा ट्याक्टर पनि छ ।

attariya hospital

५ कट्ठामा आलुखेती
उनीहरुले ५ कट्ठा जमिनमा आलुखेती पनि गरेका थिए । जसबाट उनीहरुले १८ क्विन्टल आलु बेचेका छन् । ‘आलु १८ क्विन्टल बेच्यौँ, बिउका लागि पनि राख्या छौँ ६ क्विन्टल जति’, सोनूले भनिन् । उनले आलुका लागि पनि बेच्न बाहिर जानु पर्दैन । आलु किन्नका लागि व्यापारीहरु आफै खोज्दै आइपुग्ने गरेको उनी बताउँछिन् । ‘बेच्न जानु पर्दैन, यहीँनिर नजिकै हाटबजार छ, त्याँ बाट लिन आउँछन्’, उनले भनिन्, ‘खोज्दै आउँछन् थाहा नहुँदासम्म, एकचोटी थाहा पाएपछि अनि सधैँ आउने गर्छन् ।’

च्याउखेती पनि
उनीहरुले च्याउखेती पनि गरेका छन् । एउटा टनेल बनाएर च्याउ खेती गरेकी सोनू डेढ क्विन्टलभन्दा बढी च्याउ बेचेको बताउँछिन् । २०० रुपैयाँ प्रतिकिलोदेखि अहिले १०० रुपैयाँ किलोसम्ममा बेचिरहेको उनी बताउँछिन् । ‘पहिला मंसिरतिर महंगो थियो, दुई सय डेढ सय जति, अनि त्यस्तै घट्दै घट्दै आयो । पछि सय रुपैयाँमा बेचेँ, त्यतिमै जान्छ अहिले’, उनले भनिन् । च्याउ बेच्नका लागि बजार भने पुग्नु नपरेको र घरबाटै च्याउ विक्री भइरहेको उनी बताउँछिन् । ‘किन्नका लागि मान्छे घरमै आउँछन्, कहीँ जानु पर्दैन’, उनले भनिन् ।

बंगुरमा मनग्य फाइदा
बंगुरपालन पनि गरेका चौधरी दम्पती अरुभन्दा बंगुरपालनबाट बढी आम्दानी लिन सकिने बताउँछन् । ‘बंगुरलाई धेरै मेहनत लाग्दैन, चारो दिएर बाहिर यताउति जान पनि सकिन्छ, दिनमा दुई टाइम टन्न खान दिए ढुक्कै भइन्छ’, सोनू भन्छिन् । उनका श्रीमान बिन्तिरामले बंगुरबाट वार्षिक रुपमा ४ लाख बढी आम्दानी भइरहेको बताए । ‘बंगुरबाट एक वर्षमा ४ लाखभन्दा बढी नै हुन आउँछ आम्दानी, अहिले हामीसँग ११ ओटा बंगुर छन्’, उनी भन्छन्, ‘पहिला पनि पाल्थ्यौँ, रोग लागेर सबै बंगुर मरे, अहिले फेरि पोहोर सालबाट पाल्न सुरु गरेका हौँ ।’

बाख्रापालन पनि सँगसँगै
उनीहरुको खोरमा ३५ ओटा बाख्रा छन् । दुई ओटा बाख्राको बच्चा पालेर सुरु गरेकोमा ५० ओटा बाख्रा पुगेका बिन्तिराम बताउँछन् । उनले भने, ‘घरकै बाख्राको बच्चा थियो दुईटा, त्याँ बाट सुरु गरेको, ५० ओटा पुग्याथे, बेचेर अहिले ३५ ओटा छन् ।’ गत वर्षबाट बाख्रापालन सुरु गरेको बताएका उनले बाख्राबाट अहिले मात्रै डेढ लाख रुपैयाँ आम्दानी लिइसकेको बताए ।

लोकल कुखुरासँगै ह्याचरीबाट चल्ला उत्पादन
लोकल कुखुरा पनि पालेका उनी कुखुरामा भने खासै फाइदा नरहेको बताउँछन् । उनीहरुले कुखुराका अण्डा पनि बेच्ने गरेका छन् । ‘लोकल कुखुराबाट वर्षभरिमा त्यही ५० हजार जति हुन आउँछ, कुखुरा चैँ रोगबाट बचाउन सक्नुपर्छ, धेरै रोग लाग्छ यिनीहरुलाई । बढी घाम भए पनि मर्ने, बढी चिसो भए पनि मर्ने, गाह्रै हुन्छ’, बंगुरलाई नुहाउँदै खोर सफा गरिरहेका बिन्तिराम भन्छन् । उनीहरुले कुखुरा, बंगुर अनि बाख्राका लागि दाना बनाउने मेसिन पनि राखेका छन् भने चल्ला कोरल्नका लागि ह्याचरी मेसिन पनि राखेका छन् ।

काउली, बन्दा, ब्रोकाउली, सिमी र रायोबाट आम्दानी
उनीहरुले काउली, बन्दा, ब्रोकाउली, सिमी र रायो पनि लगाएका छन् । यी साग तरकारीहरु लगभग बेचिसकिएका छन् । यो सागपातबाट उनीहरुले एक लाख जतिको आम्दानी लिएका छन् । ‘सिमी त यो पालि कति फल्यो फल्यो, धेरै बेच्यौँ’, सोनूले भनिन्, ‘सिमी, बन्दा, ब्रोकाउली, रायो सबै गरेर एक लाख जतिको भयो होला ।’

केहीलाई मौसमी रोजगारी
चौधरी दम्पतीले कृषि कार्य मात्र गरिरहेका छैनन्, उनीहरुले केहीलाई रोजगारी पनि दिएका छन् । दुई जना ट्याक्टरका लागि ड्राइभर राखेका छन् भने आलु लाउने, खन्ने, केरा लाउने अनि काट्ने समयमा दैनिक ६/६ जनालाई काममा लाउने गरेका छन् । केहीले ज्याला मजदुरीमा त केहीले आवश्यकताअनुसार तरकारी लगेर त्यसको सट्टा काम गरिदिने गरेका छन् ।

अनुदान नपाउँदा समस्या
चौधरी दम्पति यो सबै कृषि कार्यबाट खर्च कटाएर वर्षमा ६ लाख बढी रुपैयाँ आम्दानी लिइरहेको बताउँछन् । तर, सरकारबाट कुनै अनुदान रकम नपाउँदा समस्या हुने गरेको बताउँछन् । ‘अनुदान खानेले खाएर भाग्दिन्छन्, अनि गर्नेले चैँ पाउँदैन, हामी कृषि गरिराछौँ हामीलाई कसैले पनि सोध्या छैन, सहर नजिक छौ भन्छन्, केही सहयोग गर्दैनन्’, उनीहरु भन्छन् ।

धनगढी उपमहानगरपालिकाले वडा नम्बर १७ लाई मात्र कृषि क्षेत्र घोषणा गरेको छ । १९ वडा रहेको उपमहानगरका बाँकी वडालाई भने आवासीय क्षेत्र घोषणा गरेको छ । उपमहानगरले आवासीय क्षेत्रका कृषकहरुलाई अनुदान वितरण गरेको छैन । वडा नम्बर १, २, ३, ४, ५, ११ र १३ लाई पूर्ण गैरकृषि घोषणा गरिएको छ । उपमहानगरका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले गैरकृषि क्षेत्रमा अनुदान वितरण नगरेको बताए ।

उनीहरूले प्रदेश तथा सङ्घीय सरकारबाटसमेत अनुदान पाएका छैनन् । आवासीय क्षेत्र घोषणा गरेका वडाहरूको जग्गाको मूल्यवृद्धि भएको छ भने जग्गाको कित्ताकाट हुँदै बिक्री बढेको छ । सरकारले आवासीय क्षेत्रका किसानलाई सहयोग नगर्ने भएपछि लामो समयदेखि व्यावसायिक कृषि गर्दै आएका किसान पलायन हुने अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.