एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएईको भ्रमण सकेर अहिले कतारको राजधानी दोहा पुगेका छन् । उनलाई भारतीय समुदायका मानिसहरूले स्वागत गरेका छन् ।

प्रधानमन्त्री मोदीले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग भेट गरिसकेका छन् । केही दिनअघि कतारले मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय जलसेनाका पूर्वकर्मचारी रिहा गरेको सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीको कतार भ्रमण भएको बीबीसी हिन्दीले जनाएको छ ।

भ्रमणका क्रममा मोदीले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग पनि भेट गर्ने कार्यक्रम छ । दुई देशबीच द्विपक्षीय सम्बन्धलगायत विश्वका विषयमा वार्ता हुने खबरमा उल्लेख छ । यसअघि मोदीले सन् २०१६ को जुनमा कतारको भ्रमण गरेका थिए ।


















