धनगढी – लगानीको लागि वातवरण बनाउँन प्रदेश सरकारलाई व्यवसायीहरुले आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको सातौँ प्रदेश सभाको उद्घाटनको क्रममा उनीहरुले यस्तो बताएका हुन् ।

महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले लगानीको लागि स्पष्ट नीतिको व्यवस्था गर्न सरकारलाई आग्रह गरे । ‘काम गर्ने वातावरण बन्यो भने हामी लगानी गर्न तयार छौं’, उनले भने । उपाध्यक्ष वैद्यले युवाहरुको विदेश पलायन रोक्नका लागि मुलुकको शिक्षा नीति र उद्योग नीतिमा परिवर्तन गर्न आवश्यक रहेको औंल्याए ।

यसैबिच, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार निकाय रहेको उल्लेख गरे । उनले प्रदेशमा स्वरोजगारको अवसर सृजना हुनु पर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकार लगानी तथा विकास सम्मेलन गर्ने तयारीमा जुटेको बताए ।
साथै प्रदेश भित्र रहेका व्यवसायी तथा नयाँ उद्योग संञ्चालका लागि व्यवसायीहरुलाई सुझाब दिन आग्रह गरेका छन् । व्यवसायीले दिएका सुझाव सल्लाह बमोजिम आफु अगाडी बढ्न प्रतिद्ध रहेको बताए ।
















