खाेज्नुहाेस

सुदूरपश्चिमका तीन जिल्लाबाट लागूऔषधसहित ८ जना पक्राउ

Image
सांकेतिक फोटो

अत्तरिया  – कैलाली, कञ्चनपुर र दार्चुलामा प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ। कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट २३० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित २४ वर्षीय कमल चौधरी पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो।

यस्तै, टिकापुर नगरपालिका–९ खक्रौलाबाट ६३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित टिकापुर–१ का ३१ वर्षीय दिनेश शाही पक्राउ परेका छन्। सोही स्थानबाट ३ ग्राम २० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ, ३ क्याप्सुल नाइट्रोजाम र ८ क्याप्सुल स्पाजामसहित टिकापुर–७ बैद्यटोलका २१ वर्षीय खकेन्द्र साउद पनि पक्राउ परेका छन्।

attariya hospital
navjiwan hospital

त्यसैगरी, भजनी नगरपालिका–६ विस्नापुरबाट ३४० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित जानकी गाउँपालिका–४ का २० वर्षीय प्रासिस रावत र एक १८ वर्षीय किशोर पक्राउ परेका छन्।

कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चन्देवबाट २३० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित बैतडी पुर्चौडी नगरपालिका–८ का ३२ वर्षीय अर्जुन धानुक र पुनर्वास नगरपालिका–२ का २२ वर्षीय आशिष साउद पक्राउ परेका छन्। उनीहरू सवार से ६ प ७५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

उता, दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट ११ ग्राम चरेसजस्तो देखिने कालो पदार्थसहित मार्मा गाउँपालिका–४ घर भई हाल बाङ्गाबगर बस्दै आएका ३१ वर्षीय सन्तोष बर्मा सुनार पक्राउ परेका छन्।

प्रहरीले बरामद लागूऔषध तथा सवारीसाधन नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।