अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा रहेको समैजी माविका एक विद्यार्थीमाथि विद्यालयकै शिक्षकबाट कुटपिट भएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी एलिसा खड्कामाथि सोही विद्यालयका शिक्षक लोक बहादुर खड्काले कुटपिट गरेका हुन ।
घटना माघ २२ गते (सोमबार)को हो । विद्यालयमा टिफिनको बेला एक्कासि ‘देवी’ काँप्दै एलिसा विद्यालय नजिकै घर भएका शिक्षक लोक बहादुरको घरमा पुगेकी थिइन् । त्यहाँ पुगेपछि एलिसाले काँप्दै मेरो मन्दिर किन भत्काएको भन्न थालेपछि शिक्षक लोक बहादुरले ‘हाक’ (धामी) आएको भन्दै कुटपिट गरेको स्थानीयले बताएका छन् ।


विद्यार्थीमाथि कुटपिट भएपछि अहिले विद्यार्थी आन्दोलित भएका छन् । विद्यार्थीहरूले कुटपिट गर्ने शिक्षकलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूले घटनालाई थामथुम पार्न नगरपालिका, शिक्षक, प्रहरी सबै लागेको भन्दै मंगलबार नगरपालिका पुगेरै विरोध समेत गरेका थिए । नगरप्रमुख हेमराज ओझाले पनि कुटपिट गर्ने शिक्षककै बचाउ गरेको भन्दै विद्यार्थी आक्रोशित भएका छन् ।

विद्यार्थीहरूले घटना बाहिर नल्याउन भन्दै धम्की समेत दिइएको बताएका छन् ।

प्रधानाध्यापक सन्दीप ओझाले विद्यालयमा विद्यार्थी काँप्ने गरेकाले घटना भएको बताए । काँप्ने विद्यार्थीले चिच्याउँदै आफ्नो पुरानो मन्दिर विद्यालयका तत्कालीन प्रधानाध्यापक समेत रहेका लोक बहादुर खड्काले भत्काएको बताउने गरेका छन् । सोमबार पनि काँप्दै एलिसा भत्काएको मन्दिर बनाउन भन्दै शिक्षकको घरमै गएपछि घटना भएको प्रधानाध्यापक ओझाले बताए । उनले काँपेर घरमा गएकी विद्यार्थीलाई कुटपिट गर्नु गलत भएपनि ‘हाक’ आएपछि घटना हुन पुगेको बताए ।

उनले विद्यालयमा २८ जना विद्यार्थी काँप्ने गरेको बताए । विद्यार्थी काँप्न थालेपछि नगरपालिकाबाट डाक्टर आएर उपचार गर्दा पनि निको नभएको उनले बताए । विद्यार्थीको काँप्ने समस्या निको नभएपछि विद्यालयमै धामी, झाँक्री बोलाएर झारफुक गरेको उनले बताए । मंगलबार विद्यालयमा २ झाँक्री बोलाएर काप्ने विद्यार्थीमाथि झारफुक गरिएको थियो ।
