बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएका तीन जनालाई धनगढी रेफर गरिएको छ । दोगडाकेदार गाउँपालिका-८ का गणेश विष्ट, घुमरा विष्ट र चालक भुपेन्द्र विष्टलाई धनगढी रेफर गरिएको हो ।
उनीहरुलाई हिजो साँझ नै थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।


मंगलबार दिउँसो २ बजेतिर दोगडाकेदार गाउँपालिकाको सिल्लेगडाबाट दोगडाकेदार-८ माल्लेक जाँदै गरेको सुपप्र ०१००१ ज १५३७ नम्बरको बोलेरो जिप कटौजपानीमा दुर्घटना भई सडकबाट ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा जिपमा सवार दोगडाकेदार-८ कटौजपानीकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको थियो । चालकसहित अन्य सात जना घाइते भएका थिए । घाइतेमध्ये चार जना जिल्ला अस्पताल बैतडीमा उपचारपछि डिस्चार्ज भइसकेका बताइएको छ ।
प्रहरी प्रवक्ता जोशीले जिपको पट्टा भाँचिदा अनियिन्त्रत भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटनाबारेथप अनुसन्धान भइरहेको उनले बताए ।















