-डिल्ली राज पनेरू
सहकारी र सहकार्य नाम नै काफी छ । तर यसको अर्थ नबुझ्नाले अहिले विभिन्न किसिमका समस्याहरु देखा पर्दै आइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरु जुन रुपमा सञ्चालित छन् र तिनिहरुको नियमन निकायले जसरी नियमन गरिरहेका छन्, यदि सहकारीलाई पनि त्यही रुपमा नियमन गर्ने हो भने सहकारीको केही हदसम्मको समस्या समाधान हुन्छ जस्तो लाग्छ ।

अर्को पाटो भनेको सञ्चालक र लेखा समितिको हो । सञ्चालकहरुको गैर जिम्मेवारीपन र जिम्मेवार सक्षम कर्मचारीको नेतृत्व नहुँदा सहकारीहरु मजाकको रुपमा सञ्चालन भइरहेका छन् । यहाँ त यतिसम्म छ कि पद र ओहदाको लागि सदैव अघि बढ्ने र त्यसपछिको जिम्मेवारी नबुझ्ने परिपाटिले गर्दा सहकारी क्षेत्र झन धरापमा परेको देखिन्छ ।

गाउँघरमा रहेको स-सानो बचतलाई संकलन गरी गाउँघरमै परिचालन गर्ने गरी सबैको लागि एक र एकको लागि सबै भन्ने मर्मका साथ स्थापना भएका सहकारीहरु अहिले सक्षम नेतृत्व नपाउँदा धारासायी हुँदै गइरहेका देखिन्छन् । सहकारी पनि वित्तीय क्षेत्रको एक अभिन्न अंग भएकोले यसले देशको आर्थिक रुपान्तरणमा ठुलो भूमिका खेल्दछ । तर यहाँ राजनितिक हस्तक्षेप, राजनीतिक भागबन्डा जस्ता कुराहरुले सहकारी क्षेत्र तहसनहस हुँदै गइरहेका छन् ।

सहकारी होस या अन्य कुनै वित्तीय संस्था जहाँ सर्वसाधारण तथा आर्थिक लगानीको लागि सञ्चालित संस्थाहरु हुन्छन् त्यस्तो ठाउँमा राजनीति घुसाउने हो भने वित्तीय क्षेत्र नै संकटमा जान्छ । त्यसैमा झन नेपालको राजनीति, जहाँ काम भन्दा पनि बढी अरु पाटोलाई नै जोड दिइन्छ । यदि त्यस्ताको हातमा वित्तीय संस्थाहरु दिने हो भने त्यो संस्था कहिल्यै अघि बढ्न सक्दैन ।
नीति र सुशासनमा चल्न नसक्ने संस्थाहरु अहिले आएर समस्यामा परिरहेका छन् । त्यसैले सबैभन्दा पहिले सहकारी, बैंक तथा वित्तीय संस्था सर्वसाधारणको स-सानो बचत रकममा सञ्चालित हुन्छन् र त्यही रकम सर्वसाधारण माझ कर्जाको रुपमा परिचालन भएको हुन्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी देखिन्छ ।
कुनै एक सदस्य वा ग्राहकले कुनै कर्जा दुरुपयोग गर्छ भने त्यसको असर समग्र सदस्य तथा ग्राहकहरुमा पर्न जान्छ । किनभने त्यस कर्जा लगानीमा त्यो बाहेक अन्य सदस्यहरुको पनि बचत लगानी भएको हुन्छ । यदि लगानीमा दुरुपयोग भयो भने अन्य सदस्यहरुको बचतमा पनि असर पर्दछ । कुनै एकले गर्दा अर्कोलाई पनि असर गर्दै अन्तमा संस्था नै धरापमा पर्ने भएकोले सबैले आ-आफ्नो क्षेत्रबाट असल सदस्य बनी सहयोग गरी सहकार्य गर्न र बुझ्न जरुरी छ ।
