अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट नियन्त्रणमा लिईएका २८ वटा टिकट ठेलीहरु नक्कली नै भएको दावी गरिएको छ । शनिबार महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै नियन्त्रणमा लिईएका २८ वटा ठेलीहरु नक्कली भएको दावी गरेको हो ।

संघका महासचिव शंकर खड्काले टिकट काउन्टरमा छड्के अनुगमन गर्दा नक्कली टिकट काटेको फेला परेको बताएका छन । उनले आफुसहित संघका केही अन्य प्रतिनिधिहरुले उक्त मात्रामा नक्कली टिकट ठेली बरामद गरेको बताए । उनले फरक किसिमको ठेली टिकट विक्रेताले फेला पारेर संघका पदाधिकारीलाई जानकारी गराएको भन्ने कुरा झुटो भएको बताए । ‘टिकट काउन्टरमा हामी सधै छड्के अनुगमन गर्दछौ, हामीलाई कसैले सुचना दिएको हैन’ उनले भने ‘हामीले आफैले छड्के अनुगमन गर्दा सो मात्रामा फरक ठेलीहरु बरामद गरेर नियन्त्रणमा लिएका हौ ।’

उनले महोत्सव जारी रहेकै बेला विवाद बढाउँदा महोत्सव बिथोलिने भएकाले धेरै कुरा बाहिर नल्याएको भएपनि यसको अनुसन्धान गरेर दोषी नछोडिने बताए । ‘हामी अनुसन्धान गरिरहेका छौ, अहिले महोत्सव सञ्चालन भैरहेकाले यसलाई असर नपरोस भन्ने किसिमले हामी शान्त छौ’ उनले भने ‘महोत्सव सकिएपछि दोषीलाई चाडै बाहिर ल्याएर कारबाही गर्छौ ।’ उनले ठेलीहरु नक्कली भएका धेरै आधारहरु रहेको समेत बताए । ‘प्रमाणसहित नै नक्कली ठेली हामीले समातेको अवस्था देखिएकै छ, यो गलत कार्यहरु कैले देखी भैरहेका छन भन्ने एकिन छैन’ उनले भने ‘हामी यो विषयलाई गम्भीर रुपमा लिएर अनुसन्धानमा लागिरहेका छौ, महोत्सव सकिएलगत्तै हामी कानुनी रुपमा लाग्छौ, गलत भएको प्रमाणित नै छ ।’ उनले ठेली बरामद भैसकेपछि आयोजक ले नै टिकट काट्ने काम गरिरहेको बताए । उनले स्ववियुसँग भएको सम्झौता रद्ध गरिएको समेत बताए ।

टिकट छाप्ने जिम्मेवारी पाएका संस्थाका सदस्य बम बहादुर बोगटीले बरामद गरिएका टिकट ठेलीहरु नक्कली भएका धेरै आधारहरु रहेको बताए । उनले बरामद गरिएका ठेलीहरु पुर्ण रुपमा नक्कली भएको समेत बताए । ‘टिकट एक लाख छपाउने निर्णय भएपनि स्पोन्सर प्रिति चाउचाउको विज्ञापन फरक परेकाले हामीले कार्यसमितिकै सल्लाहमा १० हजार ठेली बढी छापेका थियाँै’ उनले भने ‘विगतलाई अध्ययन गर्दै छपाईको कामलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर मैले आफ्नो अलग्गै कि वर्ड (खोजशब्द) राखेको थिए ।’ उनले फेला परेको टिकटमा त्यो कि वर्ड नभएकाले त्यो नक्कली नै भएको प्रमाणित भएको बताए । उनले आफुले टिकट छाप्ने जिम्मेवारी पाएको र फरक ठेली भेटिएपछि टिकट छाप्ने छापाखाना सँग पनि कुरा गरेको बताए । छापाखानाले पनि ठेलीमा त्यस्तो किसिमको कुनै फरक नरहेको स्पष्ट पारेको उनको भनाई छ ।
आठौं संस्करणको महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) लाई दिइएको थियो । तर टिकट स्थलमा नक्कली टिकट ठेली भेटिएपछि शुक्रबार आयोजकले नै टिकट काटेका थिए । विहीबार २८ नक्कली टिकट ठेली नियन्त्रणमा लिदा २ वटा टिकट ठेली काटिएको अवस्थामा भेटिएका थिए । एउटा टिकट ठेलीमा ५० वटा टिकट रहेका छन । टिकट स्थलबाट नक्कली ठेली बरामद गरिदा महोत्सवमा यसअघि पनि नक्कली टिकट ठेली वितरण भएर आर्थिक हिनामिना भएको आशंका गरिएको छ ।
सम्बन्धित समाचार : अत्तरिया महोत्सवमा नक्कली टिकट ठेली भेटिएपछि…