काठमाडौँ- वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । ७७ वर्षीय वैद्यको गएराति साढे १२ बजे काठमाडौँको सुन्धारामा रहेको काठमाडौँ भ्याली अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् ।
राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् ।
वनस्पतिशास्त्रमा एमएस्सी गरेका वैद्य करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रहे । उनले ०६१ सालमा सहसचिव पदबाट अवकाश लिएका थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।