अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटन नगर्न नेकपा एमाले गोदावरी नगर कमिटीले चेतावनी दिएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण गरिएको गोदावरी नगरपालिकाको भवन उद्घाटन गरिसकिएकाले पुनः उद्घाटन नगर्न एमालले चेतावनी दिएको हो ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले नगर कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष सिंहले भवन उद्घाटन नगर्न चेतावनी दिए । उनले बल प्रयोग गरी भवन उद्घाटन गरिए त्यसपछि आउन सक्ने गम्भीर परिस्थितिको जिम्मेवारी नगर प्रमुखले लिनुपर्ने बताए ।

भवनको तत्कालिन मेयर साउँदले २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए । सम्झौता अनुसारको काम नसकिदै भवन उद्घाटन गरिएको भन्दै तत्कालिन समयमा नेपाली कांग्रेस लगायत ६ राजनीतिक दलले चर्को विरोध गरेका थिए ।

तर, तत्कालिन मेयर साउँद भने भवन निर्माण भएपछि नै उद्घाटन गरिएको दावी गरेका छन । ‘भवनको पुर्ण रुपमा पेन्टिङ, सिसा जडान भइसकेको थियो । भवनको कम्पाउण्डको काम मात्रै बाँकी थियो’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘मैले सबै संग सल्लाह गरेर हुन्छ भनेपछि उद्घाटन गरेको हुँ ।’
गोदावरी नगरपालिकाको भवन माघ ४ गते उद्घाटन गर्ने नगरपालिकाले जनाएको छ । भवन दाताबाट हस्तान्तरण नभइ उद्घाटन गरिएकाले सो उद्घाटन वैध नभएको उद्घाटन गर्न लागिएको हालका मेयर बिरेन्द्र भट्टको दावी छ ।
उद्घाटन कार्यक्रममा हाल एमालेबाट निर्वाचित जनप्रतिनिधिले पनि साथ नदिने जनाएका छन । एमालेबाट उपमेयरमा निर्वाचित शारदा रोकायाले भवन उद्घाटनमा एमालेका जनप्रतिनिधिको सहभागिता नरहने बताइन् । उनले दोस्रो पटक भवन उद्घाटन गर्न लागिएकाले आफूहरुले त्यसको विरोध गरेको बताइन् ।
