डोटी – डोटीको केआईसिंह गाउँपालिका–४ वायलका ४५ वर्षीया डवल विकले निगालोको डोकोडालो बुन्न थालेको २५ वर्षभन्दा बढी समय भयो । निगालोको डोकोडालो बुनेर घरायसी खर्च चलाउँदै आएका विक पछिल्लो समय स्थानीय स्तरमा पाइने बजारबाट खरिद गरिने प्लास्टिकका सामग्रीहरूको बढ्दो प्रयोगले आफ्नो पेसा सङ्कटमा पर्ने चिन्तामा छन । उनले भने ‘एउटा डोको बढीमा ६ सयमा बिक्री हुन्छ । आजभोलि प्लास्टिकको सामान बढी प्रयोग हुन्छ । बजारमा सस्तैमा प्लास्टिकका सामान पाइन्छन्, ग्राहकले पनि हाम्रो सामग्री महँगो भन्छन् ।’
विकको जस्तै चिन्ता डोटीकै पूर्वीचौकी गाउँपालिका–२ बग्लेगका ५५ वर्षीय राइभान ठकुल्लाको छ । खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएका कारण पनि निकुञ्जमा पुर्जी खुलेको समयमा सहजै निगालो पाइने बग्लेगमा सडक यातायात पुगेसँगै प्लास्टिक सामग्रीको प्रयोग समेत बढेकोमा दुखेसो पोख्दै ठकुल्लाले भने ‘पहिला डोकाडालो, मान्द्रो, खोज्न घरैसम्म आउँथे । आजभोलि ग्राहक खोज्दै हिँड्नु पर्छ, ग्राहकले मागेको मूल्यमा सामान बेच्नुपर्छ ।’


कतिपय स्थानमा सहजै निगालो नपाइने समस्या पनि छ । जङ्गलमा गएर जोखिम मोलेर निगालो खोज्नु पर्ने बाध्यता छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट अझै पनि स्थानीयको परम्परागत सिपलाई व्यवसायीकरण गर्न सकिएको छैन । आधुनिकीकरण सँगै व्यवसायीकरण गर्न नसक्दा परम्परागत रूपमा डोकोडालो उत्पादन गर्दैआएका स्थानीयले पेसाबाट पलायन हुनुपर्ने बाध्यता छ ।
आयातित सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्दा मेहनतअनुसार बस्तुको मूल्य पाउन सकिएको छैन । स्थानीय तहले नीति निर्माण गरेरै स्थानीय स्तरमा तयार गरिने सामग्रीको प्रयोगलाई बढवा दिनुपर्ने धेरैको भनाइ छ । ‘हाम्रो वडामा डोकोलाई फोहोर व्यवस्थापन गर्न डस्टबिनको रूपमा उपयोगमा ल्याइएका छौँ’ डोटीको बोगटान फुड्सिल गाउँपालिका –१ रामबहादुर धामिले भने ‘अव सबै क्षेत्रमा यस्तै प्रकारको स्थानीय स्तरमा उत्पादन हुने सामग्रीको बढी प्रयोग हुने किसिमका काम गरिनु पर्छ ।’
जिल्लाका सबै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । ग्रामीण क्षेत्रमा सडक यातायातको सहज पहुँचसँगै प्लास्टिकजन्य सामग्रीको प्रयोग पनि बढ्न थालेको छ । वातावरणीय अनुकूलनका लागि समेत बाँस निगालोको सामग्रीको प्रयोग प्रवर्द्धन गर्नु आवश्यक छ ।


















