धनगढी – कैलालीको टीकापुरमा गोबरका दियो र अगरबत्ती निर्माण गर्न थालिएको छ । तिहार लक्षित गरेर टीकापुर–५ सीतापुर सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले पहिलो पटक गोबरका दियो, मूर्ति र अगरबत्ती निर्माण गर्न थालेको हो ।

टीकापुर क्षेत्रका नौ जना स्वयंसेवी युवाले सामुहिक रूपमा छाडा चौपाया व्यवस्थापन गर्दै गौशाला सञ्चालन गरिरहेका छन् । उनीहरुले दीपावलीलाई लक्षित गरी गौशालाबाट उत्पादन हुने गौमुत्र र गोबर प्रयोग गरी दियो, अगरबत्ती र मूर्ति बनाउन सुरु गरेका हुन ।

६ महिनाअघिदेखि दुई सय घनमिटरको गोबरग्यास प्लान्ट स्थापना गरेर ५५ घरमा बिहान र साँझ दुईरदुई घण्टा निःशुल्क गोबरग्यास वितरण गरिरहेको समितिले गोबर र गौमुत्र उपयोग गर्दै यस्ता सामान बनाउन थालेको हो । समितिका सचिव द्वारिका जैसी र सदस्य उपेन्द्र न्यौपानेले भारतको उत्तराखण्डस्थित काँशीपुरमा पुगेर यसबारेमा तालिम लिएको बताए ।
गौशाला सञ्चालनका लागि स्वयंसेवी रूपमा अग्रसर भएका युवाहरूले लोकबहादुर बुढाथोकीको अध्यक्षतामा यकराज पण्डित, द्वारिका जैशी, गेहेन्द्र बम, रुथ सुवेदी, उत्तमकुमार शाहलगायत युवाको समूह बनाई गौशाला स्थापना गरेर गौ संरक्षणमा जुटेका हुन् । तिहारका लागि भारतबाट आउने माटोको दियो भन्दा गोबरका दियो सस्तो हुने जनाइएको छ।















