बाँके– ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपनाजस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाइ च्यापिनुभयो’, ओठ कपाउँदै अनि आँखाभरि आँशु बनाउँदै आफ्ना पीडा सुनाइन् भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले ।
२६ वर्षीया यमुनाको भनाइअनुसार शुक्रवार राति भूकम्प जाँदा माथिल्लो दुई कोठामा आमा र ठूल्दाइ सुतेका थिए भने तल उनको तीन जना परिवार । भूकम्पले घर हल्लाउँदा यमुनालाई भने सपनामा आफू काँपेको झैँ लागेको थियो । जब अचानक घरको माथिल्लो भाग खस्यो त्यसपछि सबै घर भत्कियो ।

भाग्न नपाउँदै घरले उनको परिवारका सबै सदस्यलाई पुरिसकेको थियो । उनले थरथर ओठ कमाउँदै आफ्ना पीडा सुनाए, ‘हामी भाग्नै पाएनौँ । म, मेरो श्रीमान् र छोरालाई त माथिबाट खसेर तेर्सिएको काठले बचाएको हो ।’ शनिवार दिउँसो अस्पतालको प्राङ्गणमा बिरामी श्रीमान्लाई खाना बोकेर जाँदै गरेकी यमुनाले श्रीमान्को दाहिने कोखामा काठले चोट लागेको बताइन् । भूकम्पमा परेर उनको दाहिने टाउकोमा र दाहिने खुट्टामा पनि चोट लागेको छ ।
यमुना बिस्तारै हिँडडुल गर्न सक्छिन् भने उनका श्रीमान्लाई नेपालगञ्जको भेरी अस्पतालमा भर्ना गरिएको छ । छोरालाई खासै चोट नलागेको हुनाले यमुनाले छिमेकीको भरमा जाजरकोट नै छाडेकी छिन् । एउटै घरमा साँझको खाना खाएर सँगै सुतेका आमा र दाइलाई गुमाउनु पर्दाको पीडाले सताएको त छ नै । नसोचेको घटना भयो । आमा र दाइलाई गुमाउनु पर्दा असह्य पीडा भएको यमुनाले रुँदै बताइन् ।
उनी भन्छिन्, ‘अस्पतालसम्म श्रीमान्लाई ल्याएर उपचार गराउन पाएकोमा उहाँलाई केही हलुको भएको छ । अब त उहाँलाई केही हुँदैन जस्तो लागेको छ ।’ छोरालाई अरूको जिम्मा लाएर आफू नेपालगञ्ज श्रीमान्को उपचारमा आएकी यमुना भूकम्पले अझै तर्साइरहेको बताउँछिन् । उनी बेलाबेलामा एकोहोरो हुने, डराइरहेको जस्तो देखिन्छिन् ।
नलगाड नगरपालिका–१ जाजरकोटका यादव महराको अवस्था पनि उस्तै छ । भूकम्पले गाउँमा धेरैको ज्यान गए पनि उनका परिवारका सबै सदस्य सकुशल नै छन् । छोराको टाउकोमा भने चोट लागेको छ । ‘भूकम्प जाँदा होश नै भएन । बचाउन त सबै परिवारलाई बचाएँ तर छोरालाई टाउकोमा चोट लाग्न पुग्यो । अस्पतालसम्म आइपुगेका छौँ । केही दिनमा ठीक होला भन्ने विश्वास छ’, उनी भन्छन् ।
छोरालाई पीडामा छटपटाएको देख्न सकिरहेको छैन भन्छन् यादव । सानो छोरालाई चोट लाग्नुभन्दा बरु आफूलाई किन लागेन भन्दै अस्पतालको सिँढीमा बसेर रोइरहेका यादवले उपचारमा खटिएका चिकित्सकसँग जसरी भए पनि छोरालाई निको बनाइदिन आग्रह गर्दै गरेको दृश्यले सबैलाई भावुक बनाइरहेको हुन्छ । ‘भूकम्प जाँदा हामी सबै जना घरमै सुते पनि निदाएका भने थिएनौँ । एक्कासी भूकम्प गएको क्षणभरमै घर भत्कियो । मैले चनाखो भएर भत्किएको घरबाट आफ्ना बच्चा र श्रीमतीलाई निकाल्न सफल भएँ । तर मेरो साढे तीन वर्षको छोरोलाई भत्किएको घरको ढुङ्गाले टाउकोमा चोट लाग्यो’, यादवले रुँदै छोरालाई लागेको चोटको कथा सुनाए ।

यादवजस्तै भूकम्पमा परि घाइते भएकाहरू अस्पतालभित्र अर्धचेत अवस्थामा शय्यामा छन् भने उनीहरूका आफन्तजन र परिवारका सदस्य बाहिर शीघ्र उपचारको आशामा पर्खाइमा छन् । यमुना र यादवजस्तै सुवर्णा शाह पनि आफ्नो २१ वर्षीया छोरी ईशा पनि चाँडै निको भएर घर फर्कने पर्खाइमा छिन् । ईशालाई टाउको, घाँटी र हात खुट्टामा चोट लागेको छ ।
दशैँ मनाउन आमा सुवर्णासँगै जाजरकोट मामाघरमा गएकी ईशा आफ्नो सानी आमाका दुई दिदीबहीनीसँगै रातिको खाना खाएर सुतेकी थिइन् । भूकम्पमा परि बहिनीका दुई छोरीको ज्यान गएको सुवर्णाले भावविभोर हुँदै सुनाइन् । ‘हामी दशैँ मनाउन माइती गाउँ जाजरकोट गएका थियौँ । यही आइतवार फर्कने हाम्रो तयारी थियो । तर भूकम्पले हाम्रो परिवारको मुटु चुँडालेर गयो’, सुवर्णाले रुँदै पीडा पनि सुनाइन् ।
उनकी एक छोरी र एक छोरा छन् । सपरिवार नै दशैँ मनाउन जाजरकोट गएकी सुवर्णा र छोरालाई चोट लागे पनि छोरी ईशा भने गम्भीर घाइते भएकी छिन् । ‘चोट त हामीलाई पनि लागेको छ तर धेरै चोट मेरी छोरीलाई लागेको छ । छोरीलाई केही पनि नहोस्, उनलाई चाँडै निको भइदियोस् भनेर भगवान्सँग प्रार्थना गरिरहेको छु । भाग्यले उनलाई बचाएको छ । अब डाक्टरले पनि बचाई दिनु हुनेछ भन्ने आशा छ’, सुवर्णाले छोरीको मायामा रुँदै भनिन् ।
चन्दा शाह पनि भूकम्पमा परि घाइते भएका श्रीमान् चाँडै नै निको हुने आशामा छिन् । भेरी नगरपालिका–३ खलङ्गा जाजरकोटका ४८ वर्षीय चन्दाका श्रीमान् विमलकुमार कार्कीको पनि दाहिने खुट्टा भाँचिएको छ । विमल शनिवार बिहान भेरी अस्पतालमा उपचारका लागि पुगेका पहिलो बिरामी हुन् ।
परिवारबाट १० वर्षदेखि अलग बस्दै आएका कार्कीलाई उनकी पत्नी चन्दा शाह कार्कीले अस्पताल पुर्याएकी थिइन् । चन्दालाई पनि यमुनालाई जस्तै श्रीमान्को रेखदेख गर्न र खानाको जोहो गर्न भ्याइनभ्याइ भएको छ । ‘भूकम्पले मेरो श्रीमान्लाई घाइते बनाए पनि त्यसको पीडा मलाई र मेरो चार सन्तानलाई अझ बढी भएको छ’, चन्दाले रुँदै भनिन् । विमल खलङ्गाको पीपलडाँडामा एक्लै बस्दै आएका थिए भने चन्दा चार छोरीसँगै १० मिनेटको दूरीमा बस्ने गर्थिन् । आफ्नो परिवारको सहारा नै श्रीमान् भएको हुनाले भूकम्पमा परेर उनै श्रीमान् नै घाइते भएको हुँदा चन्दालाई आफ्नो परिवारमा ग्रहण लागेजस्तै भएको छ ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परि घाइते भएका जाजरकोटबाट ३८ जनाको अहिले नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । शुक्रवार एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । पोखरेलका अनुसार शनिवार राति साढे १२ बजेसम्म थप छ जनालाई उपचारका लागि अस्पताल ल्याइएको छ । उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको पनि उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले हिजो शुक्रवार नै नौ जना डाक्टरको टोलीसहित आवश्यकीय औषधि रुकुमको चौरझारीमा पठाइसकेको पनि बताए । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालमा एक सय पाँच वटा शय्या तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा रहन भनिएको छ । पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र अन्य आवश्यक सामग्रीको प्रबन्ध मिलाइएको छ । हेलिकप्टरबाट आउने बिरामीका लागि राझा विमानस्थल र सैनिक ब्यारेकको हेलिप्याडमा दुई÷दुई वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।
बिरामीलाई रगतको अभाव हुन नदिन केही पिन्ट रगत मौज्दात रहेको छ । अपुग भएमा ताजा रगत आपूर्तिको लागि रक्तदाताको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भुइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताए । जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म डेढ सयभन्दा बढीले ज्यान गुमाएका छन् । रासस



















