खाेज्नुहाेस

दशैँको चहलपहल बढेपनि व्यवसायी निरास

Image

अत्तरिया – दशैँ सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । सामान्य समयको तुलनामा घटस्थापनाका दिन यता बजारमा मानिसको चहलपहल बढेको हो । बजारमा दशैँको लागि किनमेल गर्ने मानिस आउने क्रम बढेको अत्तरियाका स्थानीय रमेश विकले बताए । उनले अत्तरिया बजारमा बेलुकीको समयमा दशैँका लागि किनमेल गर्नेहरूको बढी भिडभाड हुने गरेको बताए ।

सामान्यतया बजारमा दैनिक उपभोग्य सामान किन्ने मानिस मात्रै बढीजसो आउने गरेकामा दशैँ सुरु भएपछि लुगा कपडा किन्ने मानिसको बढी भिडभाड हुने गरेको छ । दशैँका लागि नयाँ लुगा किन्ने चलन चलिआएकोले यो समयमा बढी जसो मानिसहरू लुगा किन्न बजारमा आउने गर्छन ।

attariya hospital

कपडा पसलहरूमा अन्य समयका तुलनामा मानिसको चहलपहल बढेपनि अपेक्षित व्यापार भने नभएको व्यवसायीहरूको गुनासो छ । अत्तरियामा रहेको जय जगन्नाथ फेन्सी हाउसका सञ्चालक प्रेम सिह कार्कीले अन्य समयको तुलनामा सामान्य व्यापार बढेपनि उत्साहित हुने अवस्था नरहेको बताए ।

उनले विगतको तुलनामा ५० प्रतिशत व्यापार पनि नभएको बताए । ‘दशैँ आएपनि गत वर्षको तुलनामा व्यापार कम भएको छ’ उनले भने ‘कोरोनाको कारण भएको लकडाउन पछिको दशैँमा पनि राम्रो व्यापार भएको थियो । तर, अहिले सामान्य समयमा पनि व्यापार बढेको छैन ।’ आर्थिक मन्दीका कारण व्यापार कम भएको हुनसक्ने उनको आकलन छ । ‘मजदुर गर्नेहरूले काम नै पाएका छैनन् । कर्मचारीहरूले फ्याट्टफुट्ट किन्छन’ उनले भने ‘दशैँको लागि सबै व्यापारीले लगानी त गरेका छन । तर, त्यो अनुसारको प्रतिफल आउने सम्भावना कम देखिएको छ ।’

navjiwan hospital

अत्तरियामा २८ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएका दिनेश्वर ट्रेड एण्ड सप्लायर्सका सञ्चालक सुरेश प्रसाद भट्टले पनि व्यापार गत वर्षको अवस्थामा पनि नपुगेको बताए । उनले पहिलो लकडाउन भएपछि व्यापार बढेपनि दोस्रो लकडाउन देखि खस्किएको व्यापार अझै माथि उठ्न नसकेको बताए ।

उनले सामान्य व्यापार भइरहेपनि कोरोना भन्दा पहिलेको जस्तो नभएको बताए । ‘दिनभरीमा वहनी पनि नहुने अवस्थामा सुधार भएको छ’ उनले भने ‘विगतमा दसैँको समयमा दिनमा लाख सम्मकै व्यापार हुन्थ्यो । अहिले दिनमा १० हजारको व्यापार गर्न मुस्किल छ ।’ उनले दशैँ टिकाको दिन भन्दा १÷२ दिन अगाडि व्यापार बढ्छ कि भन्ने आशा रहेको बताए । उनले देशको अर्थव्यवस्था नै सङ्कटमा परेकाले व्यापार नबढेको बताए ।

‘स्थानीय स्तरमा हुने उत्पादनमा कमी आएको छ । किसानको आम्दानीको श्रोत धानबालीमा पनि क्षति पुगेको छ’ उनले भने ‘विदेशमा भएकाहरूले यस ठाउँमा आएर किन्दैनन् । यसै गाउँका मानिसहरू नै हाम्रा ग्राहक हुन ।’

उनले पछिल्लो समय गाउँगाउँमा बजार विस्तार हुँदै गर्दा पनि पुराना बजारमा व्यापार घटेको हुनसक्ने बताए । उनले दशैँ देखि कार्तिक मंसिर सम्म मुख्य व्यापार हुने समय भएपनि यस वर्ष निराशाजनक सुरुवात भइरहेको बताए ।

अर्का व्यवसायी निरज शाहले बजारमा चहलपहल बढेपनि किनमेल गर्नेको संख्या न्यून रहेको बताए । उनले धेरै जसो मानिसहरू कम मात्रै समान किन्ने वा हेरेर मात्रै जाने गरेको बताए ।