‘हाम्रो गोदावरी’ पाठ्यक्रम तयार


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो गोदावरी’ तयार गरेको छ । नगरपालिकाले कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रम ‘हाम्रो गोदावरी’ २०८० तयार गरेको हो । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय एक विषय पढाउन पाउने प्रावधान अनुसार नगरपालिकाले पाठ्यक्रम तयार गरेको जनाएकाे छ। 

maya metro hospital

नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम गत वर्ष नै तयार पारिएको भएपनि यस वर्ष कक्षा ४ देखि ८ को पाठ्यक्रम तयार पारिएको बताए । पाठ्यक्रम निर्माणका लागि शिक्षा शाखा प्रमुख जोशी कै संयोजकत्वमा समिति गठन गरिएको थियो । उनले अब कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक तयार गर्नको लागि पनि समिति गठन गरिएको बताए । उनले चालु आर्थिक वर्षमा पाठ्यपुस्तक निर्माणका लागि बजेट पनि विनियोजन गरिएकाले चालु आर्थिक वर्षमै पाठ्यपुस्तक पनि तयार भइसक्ने बताए । 

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप – २०७६ ले स्थानीय विषय अन्तर्गत मातृभाषा, स्थानीय ज्ञान, सीप र प्रविधिमा आधारित विषय सँग सम्बन्धित क्रियाकलाप समेट्ने गरी आधारभूत तहमा स्थानीय विषयको पठनपाठन हुने व्यवस्था गरेको छ ।

attariya hospital

‘हाम्रो गोदावरी’ पाठ्यक्रमको भाषाको माध्यम भने नेपाली राखिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ मा भएको प्रावधान अनुसार स्थानीय तहले विद्यालय तहमा १ सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने व्यवस्था गरिएको छ । 

कक्षा ४ देखि ८ सम्मको ‘हाम्रो गोदावरी’ पाठ्यक्रममा गोदावरी नगरपालिकाको वस्तुस्थिति सँग परिचित हुने, गोदावरी नगरपालिका अन्तरगतका सम्पदाको पहिचान तथा संरक्षण गर्ने, स्थानीय पेशा, व्यवसाय र प्रविधिसँग परिचित हुन, स्थानीय फोहरमैलाको उचित व्यवस्थापन गर्न, स्थानीय सामाजिक समस्याहरूको पहिचान तथा समाधान गर्न, दैनिक जीवनमा आइपर्ने कठिनाइ प्रति सचेत रही सुरक्षाका उपायहरू अवलम्बन गर्न र खेल र योगका माध्यमबाट स्वास्थ्यप्रसन्न रहने क्षमताको विकास गरिने उल्लेख छ । 

हाम्रो गोदावरी पाठ्यक्रम अध्यापन गर्दा शिक्षकले विविधतालाई ध्यानमा राखेर बालबालिकाको सिकाइलाई प्रोत्साहन गर्नुपर्ने, खेल, गीत, कविता, कथाकहानी, प्रदर्शन, श्रव्यदृश्य सामग्रीको प्रदर्शन मार्फत सिकाइका क्रियाकलापह सञ्चालन गरिनुपर्ने उल्लेख छ । पाठ्यक्रममा अध्यापन गराउँदा विद्यार्थीको सहभागितामा योजना निर्माण, परियोजना कार्य, क्षेत्र भ्रमण, समस्या समाधान खोजमूलक अध्ययन, परिवर्तनमुखी पद्धतिलाई सिकाइ सहजीकरण विधिका रुपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । 

पाठ्यक्रममा भाषिक कठिनाइका कारण सिकाइमा बाधा नहुने सुनिश्चित गर्न यथासम्भव बालबालिकाको मातृभाषा, घरमा बोल्ने, भाषामा सञ्चार गरी सिकाइ क्रियाकलापमा सक्रिय सहभागि हुन सक्ने वातावरण तयार गरिनुपर्ने उल्लेख छ । 

यस्तै शिक्षक, विद्यालय तथा विद्यार्थीलाई सिकाइ सहजीकरण क्रियाकलाप चयन, सञ्चालन र मूल्याङ्कनमा आवश्यक सहयोग, निरन्तर पेसागत छलफल, सहकार्य र अनुभव आदान प्रदान गर्दै शैक्षिक परिवर्तनका लागि सहयोगमा प्राथमिकता दिनुपर्ने पाठ्यक्रममा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.