डडेल्धुरा – सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको छ । पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएको हो ।
त्यस्तै तरकारी पनि बजारमा लैजाने नसक्दा बारीमा नै कुहिएको छ । साउन २३ गते बिहान खसेको पहिरोले सडक अवरुद्ध हुनका साथै भासिएको छ । सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन ।

तराई र पहाड जोड्ने मुख्य राजमार्ग एक सातासम्म अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री ढुवानीमा पनि समस्या भएको व्यवसायीले बताएका छन् । यातायातका साधन सञ्चालन नहुँदा डिजेल र पेट्रोलको अभाव चुलिएको छ भने पहाडका किसानले उत्पादन गरेको तरकारी कुहिन थालेको छ ।

यहाँबाट तरकारी खरिद गरेर तराई झरेका ट्रकहरू सडकमै अलपत्र परेका कारण तरकारी कुहिएपछि खानीडाँडा र बुढीतोला क्षेत्रमा फालिएको ट्रक चालक दीपक भट्टले बताए । एकसातामा डिजेल र पेट्रोल बोक्ने ट्याङ्करले दुई वटा पेट्रोल पम्पमा आठ पटक तेल आसोर्ने गरेको बताइन्छ ।
चार पटक ट्याङ्कर आउँदा ४ हजार लिटर डिजेल र पेट्रोल आउने गरेको अमरगढी नगरपालिका–१ स्थित सहस्रलिङ्ग वीरबेतार आयल स्टोरका सञ्चालक राजु ऐरले बताए। तराई पहाड जोड्ने मुख्य राजगमार्ग अवरुद्ध भए पनि जिल्लाका अन्य सडक सञ्चालनमै रहेका छन् ।
उग्रतारा डडेलधुरा सार्वजनिक यातायात प्रालिका अध्यक्ष मानबहादुर साउदले जिल्लास्थित यातायातका साधन सञ्चालन भइरहेको जानकारी दिनुभयो । मुख्य नाकामै राजमार्ग अवरुद्ध भएपछि समस्या देखिएको हो । विभिन्न जिल्लाका पेट्रोल पम्पहरू रित्तिन थालेका छन् ।
गोरखापत्रबाट


















