अत्तरिया – कैलालीको गोदावरीमा नगरपालिका – ४ गोदावरी धाममा स्थापना गरिएको गोदावरी गुरुकुल संस्कृत विद्यापीठको पठनपाठन प्रभावित भएको छ । साउन २२ गते राती गोदावरी नदीमा आएको बाढीले गुरुकुलका कक्षा कोठा र भण्डार गृहमा क्षति पु-याएपछि पठनपाठन प्रभावित भएको हो ।

बाढीले गुरुकुलको पठनपाठन हुने २ वटा हलमा क्षति पुगेको छ । गोदावरी गुरुकुल संस्कृत विद्यापीठका प्रधानाध्यापक पदम राज उपाध्यायले गोदावरीमा आएको बाढीले गुरुकुलमा मानविय क्षती नभएपनि भौतिक रुपमा क्षति पुगेको बताए । उनले बाढीले गुरुकुलको भवन, भण्डार भवनमा क्षति पुगेको बताए ।


‘भवनभित्र बाढी पसेकाले शैक्षिक सामाग्री, बोर्ड, पाठ्यपुस्तक, बस्ने चटाइ कुर्सी, टेबुल फाइल रजिष्टर बगाएको छ’ उनले भने ‘गुरुकुलको भण्डारमा पनि खाद्यान्न सामग्रीमा क्षति पुगेको छ ।’ उनले बाढीले गुरुकुलको प्रवेशद्धार र भवनमा जाने बाटोमा पनि क्षति पुगेको बताए । उनले भने ‘अहिले गुरुकुलका भवनमा जाने बाटो बिग्रिएर कक्षा कोठामा पनि बाढी संगै आएको माटो बालुवा भरिएकाले पठन पाठन गर्न सक्ने अवस्था छैन ।’
गुरुकुलमा प्रत्येक कक्षाका लागि फरक फरक कोठा नहुँदा भने एउटै हलका अलग अलग कुनाहरुमा छुट्टाछुटै कक्षाकोठा राखिएका अध्यापन हुने गरेको छ । गुरुकुल तिर्थस्थलको नदी किनारामा उपयुक्त हुने भएकाले यसलाई बाढीको जोखिमबाट बचाउन तटबन्धन निर्माण गर्न आवश्यक रहेको प्रधानाध्यापक उपाध्यायले बताए ।

२०७४ सालमा स्थापना भएको गुरुकुलमा हाल ७ कक्षा सम्म अध्यापन हुँदै आएको छ । गुरुकुलमा हाल ५ जना शिक्षकले अध्यापन गराइरहेका छन । गुरुकुल संचालनका लागि महर्शी विधि फाउण्डेसनले सहयोग गर्दै आएको छ । यस फाउण्डेसनले नेपालका २५० गुरुकुलमा सहयोग गरेको छ ।
गुरुकुलमा हाल ३० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक उपाध्यायले बताए । उनले हालसम्म गुरुकुलबाट ८० विद्यार्थी अध्यापन गरेर अन्य ठाउँमा पढ्न गएको बताए । उनले ७ कक्षा सम्मको मात्रै गोदावरी नगरपलिकाबाट अनुमति लिएर अध्यापन गराइरहेको भएपनि अगाडीको अध्यापनका लागि अन्य ठाउँका गुरुकुलमा आफुहरुले विद्यार्थीलाई पढ्नको लागि सहजिकरण गर्ने गरेको बताए । गुरुकुलमा हाल नेपाल संस्कृत विश्वविद्यालयले तयार पारेको पाठ्यक्रम अनुसार अध्यापन हुँदै आएको छ ।
प्रधानाध्यापक उपाध्यायनले गुरुकुलमा संस्कृत भाषा संगै नेपाली, गणित, कम्प्युटर, संगित बिषयको पनि अध्यापन हुँदै गरेको बताए । उनले पछिल्लो समय गुरुकुलमा अध्यापन गर्न विद्याथीहरुको आकर्षण बढ्दै गएको भएपनि सरकारबाट भने आवश्यक सहयोग नभएको बताए ।
‘संस्कृतको पठनपाठनको ठूलो महत्त छ । यसले नै मानिसलाई संस्कारी बनाउने गर्छ । पछिल्लो समय संस्कृत भाषाको राम्रो विकास भएपनि तुलानात्मक रुपमा सरकारबाट भने आवश्यक सहयोग हुन सकेको छैन’ उनले भने ‘गोदावरीमै रहेको गुरुकुलमा पनि हाल कक्षा ७ सम्म अध्यापन भइरहेको भएपनि सरकारबाट एक जना पनि शिक्षक नियुक्त गरिएको छैन् । हाल गुरुकुल सामाजिक संघ सस्थाको सहयोगमा चलिरहेको छ । राज्यले यसमा ध्यान दिन सके संस्कृत भाषाको विकासमा अझै टेवा पुग्थ्यो ।’ उनले पछिल्लो समय मानिसहरुमा संस्कृत भाषा बढेर जागिर पाइदैन भन्ने सोच पनि हट्दै गएको बताए ।
गुरुकुलमा अध्ययनरत विद्यार्थी बाजुराका टंक प्रशाद उपाध्यायले आफू आचार्य बन्न गुरुकुलमा भर्ना भएको बताए । कक्षा ७ मा अध्ययनरत उपाध्यायले कक्षा ६ सम्मको अध्ययन भने बाजुराकै सामान्य सामुदायिक विद्यालयमा गरेको बताए । उनले अगाडीको अध्यापन कपिलवस्तु गएर गर्ने सोच बनाएको बताए ।
गोदावरीमा हाल संस्कृत पठनपाठन हुने एक मात्रै विद्यालयका रुपमा रहेको गोदावरी गुरुकुल संस्कृत विद्यापीठको संरक्षणका लागि स्थानीय सरकारले भने ध्यान नदिएको गुनासो गरिदै आएको छ । पछिल्लो समय बाढीले क्षति पु¥याएर गुरुकुलमा नियमित अध्यापन नै रोकिदा पनि राज्यले ध्यान नदिएको उनीहरुको गुनासो छ ।