बझाङ – प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीका नेता जोशीले आफूलाई राजनीतिक विश्लेषक बताउने भरत दाहालले भिडिओ बनाएर बझाङमा अमेरिकी सेनाले क्याम्प खडा गरेको भनि भ्रम फैलाएकोले छानबिन गर्न सरकारसँग माग गरे ।

उनले बझाङमा कसैले सैनिक क्याम्प खडा नगरेको दाबी पनि गरे । उनले भने, ‘आफूलाई राजनीतिक विश्लेषक भन्ने भरत दाहालले यही जेठ ६ गते भिडिओ बनाएर बझाङ जिल्लाको साइपाल गाउँपालिकाको माजा भन्ने ठाउँमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेर बसेको, स्थानीय प्रशासन, सिडियोलाई खबर गर्दा सिडियोले वेवास्ता गरेको र केही नेपाली कांग्रेस हुँ भन्ने स्थानीय गुन्डाहरुले अमेरिकी सेनालाई राख्न सहयोग गरेको भनेर भ्रमपूर्ण समाचार प्रशारण गरेको हुनाले मैले सबै दाजुभाई, जनप्रतिनिधिहरुलाई सोध्दा कोही केही नभएको कुरालाई भ्रम पार्ने काम गरिएको र गृहमन्त्रीलाई समेत जोडेर भुटानी शरणार्थीको बाहानामा सैनिक क्याम्प खडा गर्ने भन्ने भ्रमपूर्ण समाचार प्रशारण गरेको हुनाले यसको पछाडि के लुकेको छ, छानबिन गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदछु ।’
















