बझाङ – सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले प्रदेश बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् । मुख्यमन्त्री शाहले लोकतन्त्र, गणतन्त्र र संघीयता संरक्षण गर्न सबै एकै ठाउँमा लाग्नुपर्ने पनि बताए । उनले कर्मचारी र जनप्रतिनिधिका क्रियाकलापका कारणले मुलुक कमजोर हुने अवस्था आउन दिन नहुने बताए ।


उनले भने, ‘प्रदेश सरकारलाई पूर्णता दिई प्रदेश लोकसेवालाई समेत छिटोछरितो बनाई कर्मचारी पदपूर्तिको कुरामा मेरो ध्यान गएको छ ।’ बझाङ जिल्ला जलस्रोत, जडिबुटी, कृषि र पर्यटनका लागि सम्भावना भएको जिल्ला भएकाले ठोस नीति र कार्यक्रम बनाएर अघि बढ्ने स्थानीय तहबाट महत्त्वपूर्ण योजना छनोट गरी पठाउन समेत मुख्यमन्त्री शाहले आग्रह गरेका छन् ।

योजनामा कुनै बिचौलिया र दलाल सक्रिय भएको खण्डमा त्यसलाई रोक्नुपर्ने र त्यसलाई कानुनी दायरामा ल्याउने बताए । भेटघाट कार्यक्रममा कार्यालय प्रमुखहरूले कर्मचारी अभावका कारण काम गर्न अप्ठेरो परेको र बजे खर्च हुन नसकेको बताए ।

मुख्यमन्त्री शाहले बझाङमा पुगेर ताक्लाकोट सडक लगायतका विभिन्न योजना अनुगमन गरेका छन् । मुख्यमन्त्रीसँगै सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सभासदस्य पृथ्वीबहादुर सिंह, बाजुराबाट प्रदेश (ख)का प्रदेश सभासदस्य पदम शाही पनि बझाङ पुगेका छन ।