बझाङ – मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ । धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई/चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागा भाग हुन्छ । दोस्रो पटक जरिवानामा पर्नेहरू त धेरै नै कम हुन्छन् तर बझाङको साविकको दौलिचौर गाविस (अहिलेको सुर्मा गाउँपालिका–१) मा भने मदिरा सेवन गरेर जरिवाना तिर्नेलाई खासै छोएन । जति जरिवाना तिरे पनि सेवन गर्ने र बिक्री गर्ने कम भएनन् ।
जिल्लामै दौलिचौर गाविस सबैभन्दा बढी अशान्त भइरह्यो । नेपाल प्रहरीले पनि ४५ जनासम्म सुरक्षाकर्मी राख्यो । जिल्लामै चुनौतीको विषय बनेको मदिरा र हिंसा केही वर्षपछि मात्रै साम्य हुँदै गयो ।

विसं २०६७ दौलिचौरमा मदिरा अत्यधिक भएपछि नियन्त्रण समिति बन्यो । समितिले मदिरा बेच्ने, सेवनलाई चर्को जरिवाना तोक्यो । सुरक्षाकर्मीलाई जँडिया समात्ने जिम्मेवारी दिइयो । समितिका अध्यक्ष बने गोरखबहादुर बोहरा ।
उनकोे कार्यकालमा मदिराको जरिवानाबाट ३२ लाख सङ्कलन भयो । विसं २०६७ देखि २०७४ सालसम्म मदिरा नियन्त्रण समितिले दौलिचौरमा सङ्कलन गरेको रकम जम्मा गरेर दौलिचौर माध्यामिक विद्यालयलाई हस्तान्तरण ग-यो । उनले भने ‘त्यसबाट २५ प्रतिशतअर्थात् आठ लाख जँडिया समातेबापत प्रहरीलाई दियौँ । बाँकी सङ्कलन भएको रकमले विद्यालयको पक्की भवन बनायौँ ।’
उनका अनुसार जिल्लामै तत्कालीन सयममा मदिराको भण्डार दौलिचौरलाई मानिन्थ्यो । ‘जिल्लाभर अन्य ठाउँमा नपाइने मदिरा पनि दौलिचौरमा आउन थालेपछि हामीले मदिरा नियन्त्रण समिति बनायौँ,’ उनले भने ‘समितिले सुरूमा मदिरा नियन्त्रणका लागि प्रत्येक गाउँ गाउँमा अभियान नै चलायो तर, मदिरा रोकिएन । पछि अनिवार्य जरिवानाको नियम बनायौँ ।’ मदिरासँगै क्यारेम, गुच्ची खेल्नेलाई पनि नियन्त्रणमा लिँदै जरिवाना तिराएको बोहरा सम्झिन्छन् ।

मदिरा बेच्नेलाई २५ हजार, सेवन गर्नेलाई १० हजार, क्यारेमबोर्ड खेल्नेलाई १० हजार, गुच्ची खेल्नेलाई १५ सयका दरले जरिवाना गराएपछि ७ बर्षमै ३२ लाख सङ्कलन गरेर त्यस रकमले विद्यालयको पक्की भवन बनाएको उनले बताए । मदिराले नियन्त्रणको जरिवानाबाट २ लाख ५० हजारको विद्यालयमा मन्दिर र चौतारा, ३५ हजारको सोलार, २५ हजारको घेरबार, २० हजारको मन्दिरमा मूर्ति र घण्टी सहित दुई कोठे पक्की भवन बनाएको थियो ।
तत्कालीन दौलिचौर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बोहरा पनि मदिरा नियन्त्रणको पैसा धेरै नै उठेर भवन बनाएको बताए । ‘विद्यालयका भवन त्यसै रकमले मात्रै त होइन तर पनि त्यति ठूलो रकम सङ्कलन भएको हुँदा धेरै काम भयो’ उनले भने । विद्यालयका अन्य भवन बनाउनका लागि छ÷सात वर्षमै दौलिचौरबाट ७० लाख चन्दा उठाएको उनले बताए ।
‘अहिले त भवन नै बनेका छैनन’ उनले भने ‘त्यस बेलामा धेरै ठाउँबाट स्रोत जुटाएर ६ कक्षादेखि १२ कक्षासम्म सञ्चालन गरेका हौँ ।’ विद्यालयमा खानेपानी, शौचालय, घेरबारलगायतका काम स्थानीय सरकार आउनुअगावै बनाएको उनले बताए ।
पहिलेको तुलनामा अहिले दौलिचौर निकै शान्त छ । सुर्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रप्रसाद जोशीले भने ‘म पहिलो स्थानीय सरकार बनेपछि आएको हुँ । पहिले निकै अशान्त भन्ने सुनिन्थ्यो । मदिराकै कारण हत्या पनि भएको रहेछ । घरेलु हिंसा त घरैपिच्छे हुन्थ्यो भन्ने सुनिन्थ्यो । अहिले भने त्यस्ता घटना सुनेकै छैन ।’
उनका अनुसार अहिले सुर्मामा धेरै मान्छे आफ्नो काममा व्यस्त भएका छन् । ‘सुर्मामै अहिले फुर्सदिला मान्छे भेट्न मुस्किल पर्ला जस्तो छ । रातदिन आफ्नै काममा लागेका मान्छे भेटिन्छन्’ सुर्मा गाउँपालिकामा मदिरा सेवन गरेर हिँड्ने मान्छे धेरै कम भएको उनले बताए । दौलिचौरमा मदिरा नियन्त्रण समिति पनि अहिले निष्क्रिय भएको उनले बताए ।
रासस
















