अत्तरिया – गोदावरी धाम सुदूरपश्चिमकै मुख्य धार्मीक एवम् पर्यटकिय क्षेत्र हो । यहाँ नेपालबाट मात्रै नभएर भारतबाट समेत मानिसहरु आउने गर्दछन् । गोदावरी क्षेत्रमा आउनेले यस क्षेत्रमा रहेका मन्दिरहरुमा पुजा आजा गर्नुका साथै यस क्षेत्रमा रहेका पर्यटकिय सौन्दर्यको आनन्द लिने गर्दछन ।

यति धेरै महत्तपूर्ण गोदावरीको समग्र विकास र यस क्षेत्रको संरक्षणका लागि भने अहिले सम्म एक समिति सम्म बन्न सकेको छैन् । पछिल्लो सयम गोदावरी धामका रुपले चिनिने यस क्षेत्रमा मन्दिर पिच्छे समिति भएपनि यस क्षेत्रको समग्र विकासका लागि भने न समिति बन्न सकेको छ न योजना नै । मन्दिर पिच्छे खुलेका समितिहरुले आफूखुसि योजना बनाउने, पहुच भएको क्षेत्रबाट बजेट ल्याएर कार्यक्रम गर्ने गरेका भएपनि यस क्षेत्रको समग्र विकास र दिर्घकालिन योजना भने बनाएको पाइदैन् ।

लामो सयम देखि समग्र गोदावरी धामको विकासका लागि एउटै समिति बनाउने आवाज उठ्दै आइरहेको भएपनि त्यसले मुर्त रुप पाउन सकेको छैन । जसले गर्दा हाल गोदावरीमा झन झन समितिहरु थपिने क्रम बढ्दै गइरहेको छ ।

गोदावरी धाम विकास समितिका अध्यक्ष पदम राज जोशीले हाल गोदावरीमा आधा दर्जन बढी छुट्टाछुटै समिति रहेको बताए । उनले आफू नेतृत्वको समितिले गोदावरी क्षेत्रको व्यापक प्रचार प्रसार गर्न सफल भएको भएपनि समग्र गोदावरी धाम भित्र रहेका समितिलाई एकिकृत गर्न नसकेको बताए ।
‘यसको समग्र विकास गर्नको लागि अब प्रदेश स्तरकै समिति बन्न आवश्यक छ’ उनले भने ‘यसलाई एउटा नगर, जिल्ला स्तरमा भन्दा पनि वृहत रुपमा प्रदेशलाई समेटेर अगाडी बढानु पर्छ ।’ उनले गोदावरी धामको विकास गर्नको लागि समग्र गोदावरी क्षेत्र समेटेर डिपिआर बनाउन आवश्यक रहेको बताए ।
गोदावरी नगरपालिका – ४ मा पर्ने गोदावरी धामको गोदावरी नगरपालिकाले गत बर्ष डिपिआर बनाएको थियो । तर, उत्त डिपिआर अनुसार काम भने हुन सकेको छैन् । नगरपालिकाले गोदावरी धामलाई नगरपालिका मातहतमै राख्ने प्रयास गरेपनि त्यसमा स्थानीय समितिहरुले विरोध गरेका थिए ।
हाल गोदावरीमा रहेका समितिहरुले आफूसुखी मन्दिर, प्रतिक्षालय लगायतका संरचना बनाउने गरेका छ । जसले गर्दा गोदावरी क्षेत्र कुरुप बन्ने चिन्ता थपिएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले समग्र गोदावरीलाई समेटेर समिति निर्माण गर्ने आफ्नो योजना रहेको बताएका छन ।
‘यस क्षेत्रकै ठूलो पवित्र धामका रुपमा गोदावरी धाम रहेको छ । यसमा थुप्रै समितिहरु रहेका छन । हनुमान मन्दिरको आफ्नै समिति छ, गोदावरी धामकै वारी र पारी २ समिति छन, वनदेविको एउटा छ’ उनले भने ‘यसरी छरिएर रहेका समितिहरुलाई एकिकृत गरेर समग्र गोदावरी धामको एउटै समिति बनाएर यसको डिपिआर अनुसार काम गर्न सके यस क्षेत्रको विकास गर्न सकिन्छ ।’
उनले यस क्षेत्रको विकास गर्न सके यो पश्चिम नेपालकै ठूलो धार्मीक पर्यटकिय क्षेत्र बन्न सक्ने बताए । उनले यसलाई यसलाई एउटै प्रोजेक्ट बनाएर काम गर्न सकिएन भने अहिले सम्म भएको उपलब्धि खेर जाने जोखिम रहेको बताए । उनले गोदावरी आर्यघाट पनि समेटेर गोदावरी क्षेत्रको विकास गर्न आवश्यक रहेको बताए ।
पछिल्लो समय गोदावरी धाममा भौतिक संरचना थपिने क्रम बढेसंगै खुला क्षेत्रको अभाव हुन थालेको छ भने गोदावरी क्षेत्र झन कुरुप बन्ने खतरा बढेको छ । गोदावरी धामको प्राचिन कालदेखि नै धार्मीक महत्व भएपनि २०७२ सालमा यहा अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला लागेपछि यसको व्यापक प्रचार प्रसार भएको थियो । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेल्धुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरी मध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ ।