बुधबार हुने सभामुखको निर्वाचनमा नेकपा एमालले प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सभामुखका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ । सत्ता गठबन्धन दलहरूबीच एमालेले सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने सहमति भएको थियो ।

घिमिरे झापा २ बाट निर्वाचित भएका थिए । एमालेभित्र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र विद्या भट्टराईले सभामुखमा आकांक्षा राखेका थिए ।

घिमिरे २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । ४ मंसिरमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै घिमिरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । झापाको अर्जुनधारा–६ घिमिरेले स्वतन्त्र उम्मेदवार नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गरेका थिए । घिमिरेले २८ हजार ७ सय १६ मत प्राप्त गर्दा नेपालले २६ हजार ४५५ मत पाएका थिए ।
२०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा–३ मा जन्मिएका घिमिरे २०३१ को झापा विद्रोहपछि राजनीतिमा लागेका हुन् । एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज घिमिरे त्यसअघि २०७५ मा तत्कालीन नेकपाको प्रदेश १ को अध्यक्ष थिए ।