काठमाडौँ – जबरजस्ती करणी अभियोगमा केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ ।
सन्दीपको निवेदनमा न्यायाधीशहरु धुव्रराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको उनका वकिल मुराहरी सापकोटाले जानकारी दिए ।
काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए । काठमाडौँ जिल्ला अदालतले गत १८ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै सन्दीपले उच्च अदालत पाटनमा बेरितको आदेश बदर गरिपाउँ भनेर निवेदन दिएका थिए ।
बिहीबार सुनुवाइ भएसँगै अदालतले सन्दीपको पक्षमा आदेश गरेको हो । लामिछानेलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले अब बाहिरै रहेर मुद्दा लड्न पाउने छन् । तर उनलाई विदेश जान रोक लगाइएको छ ।
एक किशोरीले सन्दीपलाई बलात्कार आरोप लगाएसँगै उनलाई प्रहरीले २० असोजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।