अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालमा राजनीति रुपमा परिवर्तन भएपनि प्रशासनिक सिस्टममा परिवर्तन नहुँदा सोचे अनुसारको नतिजा आउन नसकेको बताएका छन् । शनिबार कैलाली चेम्बर अफ कमर्सले अत्तरियामा आयोजना गरेको व्यवसायीलाई सम्मान तथा उत्प्रेरण कार्यक्रममा बोल्दै भट्टले सिस्टममा परिवर्तन नहुँदा सम्म एक्लो मुख्यमन्त्रीले केही गर्न नसक्ने बताए ।
‘नेपालमा राजनीति रुपमा परिवर्तन भएपनि प्रशासनिक रुपबाट विधिमा, सिस्टममा परिवर्तन भएको छैन् । यो कुरा तपाईहरुले पनि महशुस गर्नु भएको होला’ उनले भने ‘जससम्म सिस्टममा परिवर्तन हुँदैन् म एक्लो व्यक्ति चौतर्फी आफै काम गर्न सक्ने स्थिति हुँदैन् ।’

उनले सेवाग्राहीका फाइल रोकेर गर्व महशुस गर्ने सोच अहिले पनि रहेको बताए । ‘नेपालमा प्रशासनिक सिस्टममा कुनै पनि परिवर्तन आएको छैन’ उनले भने ‘यहाँ कसैको एउटा फाइल टेबुलमा रोकिदिएकोमा गर्व हुन्छ । म संग कुरा मिल्या थिएन मैले फलानोको फाइल रोकिदिए भनेर गर्व गर्छन् । यस्तो अवस्थामा प्रशासनिक परिवर्तन नआउँदा सम्म हामीले सेवा दिन सक्दैनौ । विकास गर्न सक्दैनौ । यो एक तितो सत्य हो ।’
उनले गलत काम गर्ने कर्मचारीलाई कारवाही गर्न पनि निकै असहजता भएको बताए । उनले भने ‘आज नेपालमा कुनै व्यक्ति गलत गर्ने वितिकै प्रधानमन्त्रीले पनि कानुन हुँदा हुँदै पनि कारवाही गर्ने सहजता छैन् ।’
उनले कृषिमा पनि सोचे अनुसारको प्रगती नभएको भन्दै त्यसमा पनि कर्मचारी सिस्टम नै बाधक रहेको तर्क गरे । उनले पछिल्लो समय कृषि मन्त्रालय अनुदान मन्त्रालयका रुपमा देखिएको र, त्यसले के कति अनुदान दियो भन्ने मुल्याङ्कन नभएको बताए ।

‘कृषिलाई हामीले प्राथमिकतामा राखेर कृषि मन्त्रालय भनेको नै अनुदान मन्त्रालयका रुपमा देखिएको छ । तर, कृषिमा कति फाइदा भएको छ कति घाटा भएको छ भन्ने कुराको मुल्याङ्न छैन’ उनले भने ‘अहिले त ३ वटा सरकार छन एक घरमा तिन जनाका फार्म छन् । जुन सरकारको सूचना आउन्छ त्यै सरकारबाट अनुदान लिने बर्षभरी अनुदान खाने अरु कुनै पनि काम नगर्ने स्थिति छ ।’
उनले प्रदेश सरकार मार्फत पछिल्लो समय अनुदानको खोजि गर्ने प्रयास गरेपनि त्यो पनि हालको सिस्टमले गर्न नगरिएको बताए । उनले भने ‘प्रदेश सरकारले पछिल्लो चरणमा कति अनुदान दिइयो भनेर डाटा लिन खोजिरहेको थिए । तर, हाम्रो सिष्टम काम गर्ने शैलीले त्यो पुरा हुन सकेन् ।’
उनले नेपालमा रोजगारीका अवसर भएर पनि यहाँ काम गर्न कामदार इच्छुक नहुँदा पनि बेरोगारीको समस्या बढेको तर्क गरे ।
‘हाम्रै देशमा रोजगारी नभएर बाहिर गएका छै । तर, नेपालमा त्यही काम नेपालमा गर्न कम इच्छुक हुने र पारि गएपछि गर्न इच्छुक हुने गर्दा पनि यहाँ कामदारको अभाव छ’ उनले भने ‘यहाँ सडक कालोपत्रे गर्ने मान्छे पनि भारतबाट ल्याउनु पर्ने अवस्था छन । प्रदेश सरकारले सडकका ठेक्का लगाएको तर, काम किन भएन भन्दा कामदार नपाएको भन्ने गुनासो छ । हामीले यहाँ तालिम दिएर पनि काम गराउन पनि सकेका छैनौ ।’
उनले पछिल्लो समय अलि अलि भएपनि प्रदेश सरकार मार्फत संचालित कृषिका कार्यक्रम मार्फत भने केही परिवर्तन देखा परेको बताए ।
सम्बन्धित समाचार : धेरै कर तिर्ने कैलालीका ४ व्यवसायी सम्मानित


















