खाेज्नुहाेस

दार्चुलाका ७ विरुद्ध भारतीय प्रहरीमा उजुरी

Image
file photo

दार्चुला – महाकाली नदीमा भारतीय पक्षले गरिरहेको तटबन्ध निर्माणमा अबरोध गरेको भन्दै ७ नेपालीबिरुद्ध भारतीय प्रहरीमा उजुरी परेको छ।

गत मंसिर १८ गते भारतीय पक्षले महाकली नदीको बहाव नेपालतिर पर्ने गरी एकलौटी रूपमा तटबन्ध निर्माण गर्न थालेको भन्दै दार्चुलाबासीले बिरोध गरेका थिए। यसै विषयलाई लिएर दुई देशका स्थानीयबीच भएको झडपमा नेपाल तर्फका ४ र भारतीय २ जना घाइते भएका थिए।

attariya hospital

तटबन्ध निर्माणको काममा बिरोध गरी कामदारमाथि ढुंगामुढा गरेको भन्दै तटबन्ध निर्माण कम्पनी अरुण कन्स्ट्रक्सनले ७ जना नेपालीबिरुद्ध भारतीय प्रहरीमा जाहेरी दर्ता गरेको भारतीय प्रहरीले जनाएको छ।भारतीय अरुण कन्स्ट्रक्सनका ठेकेदार बिबी चन्दले थाना कार्यालय धारचुलामा मुद्दा दर्ता गरेको बताए। भारत पिथौरागढ जिल्लाको धारचुलाका थानाप्रमुख कुँवर सिंह रावतले भारतीय कानुनअनुरुप उजुरी दर्ता भएको पुष्टि गरे।

यता दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले नेपालीबिरुद्ध जाहेरी परेको विषयमा आधिकारिीक जानकारी नभएको बताइन्। भनिन्, ‘धार्चुला प्रहरी थानामा निर्माण कम्पनीले जाहेरी दिएको छ भन्ने सुनेका छौं। अपुष्ट खबर पाएका हौं। आधिकारिक जानकारी भने आएको छैन।’

navjiwan hospital

सहायक सीडी‌ओ साउदका अनुसार महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित तटबन्ध निर्माणका क्रममा बाँधिएको बाँधका विषयमा दुई देशका स्थानीयबीच बिवाद भएको थियो। भारतीय पक्षले महाकालीमा तटबन्ध निर्माण गरेको विषयमा नेपालतर्फका स्थानीयले रोक्न खोजेका थिए।

तटबन्ध निर्माण गर्न लागेको स्थानमा नदीको बहाव निकै साँघुरो भएकाले नदीको बहावलाई परिवर्तन गरेर भारतीय पक्षले तटबन्ध निर्माण गर्न लागेका थिए। नदीको बहाव नै परिवर्तन गरेपछि बर्षाको समयमा नेपालतर्फ बाढी आउने र बस्ती बगाउने सम्भावना भएकाले बहावलाई परिवर्तन गर्न नहुने नेपालतर्फका स्थानीयको माग थियो।

सहायक सीडीओ साउद भन्छिन्, ‘तटबन्ध निर्माण कार्य अहिले पनि चलिरहेको छ। जुन–जुन ठाउँमा बिवाद देखिएको थियो। उक्त ठाउँमा काम रोकिएको छ। अन्य ठाउँको काम निरन्तर छ।

सीमामा बस्ने स्थानीयबीच झडपको स्थिती आएपछि दुवै देशको कुटनीतिक पहलपछि नेपाल भारत सीमा सुरक्षा बैठक बसेको थियो। बैठकले निर्माणाधीन तटबन्धको विषयमा छलफल गरेको थियो। दुवै देशका प्राविधिकको अनुसन्धानपछि तटबन्ध निर्माणलाई निरन्तरता दिने वा रोक्ने विषयमा सहमति भएको थियो। १० दिनसम्म काम रोकेर प्राविधिक टोलीलाई सहयोग गर्ने सहमति भएको थियो।’

सीमा सुरक्षा गर्ने नेपालीबिरुद्ध भारतीय प्रहरीमा जाहेरी परेको विषयमा गृहमन्त्रालयले आवश्यकता हेरेर कदम चाल्ने बताएको छ। गृहमन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाका अनुसार सिमाका नेपालीबिरुद्ध जाहेरी परेको विषयमा भारतीय पक्षले कुटनीतिक जानकारी दिएको छैन। उनी भन्छन्, ‘यो दुवै देशको कुटनीतिक विषय भएकाले दुवै देशका स्थानीयको समस्या समाधान हुने गरी कुटनीतिक पहल गर्छौं।’