निश्चित बस्नेत र स्वस्तिमा खड्काको नृत्य रहेको गीत ‘साली मन पर्यो’ले हालसालै युट्युबमा १० करोड भ्युज प्राप्त गर्यो । ‘घामड शेरे’ चलचित्रमा समावेश यस गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर छ । यो गीत तीन वर्षअघि युट्युबमा सार्वजनिक गरिएको थियो । १० करोड भ्युज पार गर्ने ‘साली मन पर्यो’ पहिलो नेपाली गीत भने होइन् ।

यसअघि अन्य दुई नेपाली गीतले युट्युबमा १० करोड भ्युज पार गरिसकेका छन् । जसमध्ये ‘कुटुमा कुटु’ले अहिलेसम्म १८ करोड भ्युज पाउँदै सर्वाधिक हेरिने गीतको रेकर्ड कायम गरेको छ ।

राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर रहेको यो चलचित्र ‘दुई रुपैयाँ’मा समावेश गीत हो । यस गीतमा पनि अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् । उनका साथमा चलचित्रका मुख्य कलाकारहरू निश्चल बस्नेत, असिफ शाह र बुद्धि तामाङ पनि भिडियोमा प्रस्तुत छन् ।
गीतमा शब्द, संगीत राजनराज शिवाकोटीकै हो । सार्वजनिक भएको छोटो समयमै करोड भ्युज पाएको गीतको लोकप्रियता त्यसयताका दिनमा पनि निरन्तर उस्तै छ । गीत विवाह, पार्टी, पिकनिकमा सदाबहार रुपमा बज्ने गरेको छ ।
दोस्रो सर्वाधिक भ्युज पाउने नेपाली गीत भने गायिका टिका प्रसाईँको ‘माया लुकी लुकी’हो ।
‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको गीत चार वर्षअघि सार्वजनिक भएको थियो । सार्वजनिक भएको छोटो समयमै गीतले निकै चर्चा पाएको थियो । आजसम्म पनि गीतको चर्चा उस्तै छ ।
आनन्द अधिकारीको शब्द रहेको यस गीतलाई आशिष अविरलले कम्पोज एवं एरेन्ज गरेका हुन् ।
















