खाेज्नुहाेस

दार्चुलाका महराको मृत्यु प्रकरणमा भारतले पठायो जवाफ

Image

भारतीय पक्षले महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक निर्माणका क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ एक महिनापछि आएको छ ।

navjiwan hospital

गत कात्तिक १० मा महराको मृत्यु भएपछि भोलिपल्टै परराष्ट्र मन्त्रालयले घटना छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित भारतलाई कूटनीतिक नोट पठाएको थियो । त्यसको जवाफ भारतको विदेश मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई यही मंसिर ५ मा पठाएको स्रोतले जनाएको छ ।

attariya hospital

भारतले पठाएको जवाफमा घटना भएलगत्तै पीडितलाई राहत दिलाउन विदेश मन्त्रालयले सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गलाई निर्देशन दिएको उल्लेख गर्दै भविष्यमा यसरी सडक निर्माण गर्दा नेपाली पक्षलाई पनि जानकारी दिने प्रतिबद्धता जनाइएको छ ।

महराको मृत्यु भएको घटनामा गर्ग एन्ड गर्ग कम्पनीले गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत उपलब्ध गराएको थियो । थप राहतका विषयमा कूटनीतिक जवाफमा केही उल्लेख छैन । सीमा क्षेत्रमा सडक विस्तार गर्ने क्रममा विस्फोट गराउनुअघि भारतीय पक्षले आसपास क्षेत्रमा सूचना प्रवाह गरेको थिएन । विस्फोटपछि उछिट्टिएको ढुंगा लागेर एक नेपाली किशोरी पनि घाइते भएकी थिइन ।