मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने सिट संख्या निर्धारणको तयारी गरेको छ ।
आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाका लागि राजनीतिक दलहरूले प्राप्त गरेको मतसंख्या, प्रतिशत र सिट संख्या निर्धारण गरी सोबारे निर्णयको प्रस्ताव तयार गरेको छ ।


मुख्य निर्वाचन अधिकृत आयोगका सचिव गोकर्णमणि दुवाडी, सम्बन्धित उच्च अधिकारी र तथ्यांक सम्बन्धी विज्ञ कार्यमा संलग्न छन् । कार्यालयले आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आँकडा र निर्वाचन अधिकृतको कार्यालयबाट लिखतरूपमा प्राप्त विवरणलाई भिडाएर अलग–अलग परिणाम प्रतिवेदन (प्रस्ताव) को तयारी गरिरहेको छ ।
आयोगबाट निर्णयलगत्तै आज बुधवार सम्बन्धित दललाई पत्र पठाइनेछ । प्रतिनिधि सभातर्फ कूल सदर मतको ३ र प्रदेशसभातर्फ कूल सदर मतको १.५ प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी स्थान निर्धारण गरिनेछ । थ्रेसहोल्डको प्रतिशत कटाए पनि प्रतिसांसदका लागि आवश्यक पर्ने मतभार बराबरको मत संख्या प्राप्त नगरेमा दलले भने समानुपातिकमा सदस्य सिफारिस गर्न पाउने छैनन् ।
आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित समावेशी समूह मिलाएर नाम सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले प्रतिनिधि सभातर्फ ७ दिन र प्रदेश सभातर्फ ३ दिन समय पाउनेछन् ।
दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले मंसिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने जनाइएको छ ।


















