अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ९ बल्मीका पुष्पराज जोशी स्थानीय राष्ट्रिय माविका शिक्षक हुन । उनी राष्ट्रिय माविमा निमावी सम्म राहतको दरवन्दिमा अध्यापन गराउँदै आएका छन । २०६१ सालदेखि शिक्षण पेशामा आवद्ध भएपनि उनको रुचिको काम भने कृषि हो । त्यसले उनी साँझ, बिहान र विदाको समय आफ्नै घर पछाडीको बारीमा बिताउने गरेका छन । उनलाई यसरी शिक्षण पेशा संगै तरकारी बारीमा रमाउन थालेको १० बर्ष भैसकेको छ ।

तरकारी खेतीलाई वैकल्पिक आम्दानीको श्रोत बनाउन सफल शिक्षक जोशीले कोपिला तरकारी खेती नामको फर्म दर्ता गरेर मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन । उनले बारीमा काक्रा, लौका, बोडी, खुर्सानी, काउली लगायतका तरकारी फलाउने गरेका छन । सुरुवातका बर्षमा परम्परगत रुपमा तरकारी खेतीमा लागेका जोशी पछिल्लो केही बर्ष यता भने आधुनिक तरकारी खेती गर्ने ‘सर’ का रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन ।

‘२ बर्ष अगाडी सम्म १० कट्टा जग्गा भाडामा लिएर तरकारी खेती गरेको थिए । अहिले थोरै गर्ने राम्रो गर्ने भनेर आफ्नै ५ कठ्ठा जग्गामा मात्रै तरकारी खेती गरेको छु’ उनले भने ‘जसमा आधुनिक प्रविधि प्रयोग गरेको छु ।’ उनले मौसमी तरकारी खेतीबाट खासै नाफ नहुने भएकाले पछिल्लो समय बेमौसमी तरकारी खेतीमा जोड दिएको बताए । ‘अफ सिजनमा तरकारी उत्पादन गर्न नसके खासै नाफा हुँदैन् । अफ सिजनमा तरकारी उत्पादन गर्न सके राम्रो नाफा लिन सकिन्छ’ उनले भने ‘मौसमी मात्रै गर्ने हो भने लगानी खेर जान्छ ।’

उनले मौसमले साथ दिएमा बार्षीक ढाई देखि ३ लाख सम्म तरकारी खेतीबाट आम्दानी गर्न सकिने बताए । ‘गत बर्ष डेढ लाखको बोडी, ८२ हजारको खुर्सानी, ५० हजारको बन्दा बेचेको थिए । अरु फुटकर बेचेको हिसाब राखेको छैन’ उनले भने ‘यो बर्ष मौसमले पनि साथ दिएको छैन । त्यै पनि बार्षीक ढाइ देखि ३ लाख सम्मको कारोबार हुन्छ होला ।’ उनले अहिले तरकारी बारीमा खुर्सानी र बोडी रोपेका छन ।
उनले उत्पादित तरकारी कैलालीको अत्तरिया बजारमा बेच्ने गरेको बताए । उनी साँझ बिहानको समय मिलाएर आफै तरकारी बेच्न बजार आउने गरेका छन । ‘स्कुल १० देखि ४ भएको बेला बिहान १० बजे सम्म काम गर्ने गरेको छु । साँझ ४ पछि पनि बारीमा समय दिने गरेको छु । दिनमा जुन समय खालि मिल्यो म बारिमै विताउने गरेको छु’ उनले भने ‘शनिबार त दिनभरी नै समय दिन सकिन्छ । एकैचोटी धेरै काम भएमा ज्यालामा कामदार पनि लगाउने गरेको छु ।’
उनले घरबाट पनि श्रीमती, आमा, छोराछोरीले पनि तरकारी बारीमा काम गर्न साथ दिने गरेको बताए । उनले कृषि पेसामा रुचि भएर तरकारी खेती गरिरहेको भएपनि समय अनुसार आधुनिकरण गर्न नसकेमा भने लगानी खेर जाने चुनौती बताए । तरकारी खेतीमा अगुका किसानका रुपमा समेत परिचय बनाएका उनले नगरपालिका र संघ संस्थाबाट पनि सहयोग पाएको बताए । उनले हालसम्म गोदावरी नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनिटिलर र एउटा संस्थाबाट २ वटा टनेल पाएको बताए ।
मुख्य चुनौती बजार
जागीर छोडेर पनि तरकारी खेतीबाट मात्रै पनि जिविका चलाउन सकिने भएपनि बजारको कारण त्यो सम्भव नभएको जोशीले बताए । उनले यसका लागि धेरै ठूलो जोखिम लिन सकिने अवस्था नभएको बताए । ‘मुख्य कुरा बजारको हो । हामीले उत्पादन गरेको बस्तुको मुल्य हामी आफैले तोक्न सक्दैनौ । हाम्रो उत्पादित बस्तुको मुल्य खरिदकर्ताले तोक्छन । वहाँहरुले जती दियो त्यै समाएर आउनु पर्छ’ उनले भने ‘उत्पादन हामीले गर्छौै । मुल्य व्यवसायीहरुले तोक्ने गरेका छन । जसका कारण किसान मारमा पर्ने गरेका छन ।’
उनले किसानहरुको हातमा मुल्य तोक्ने अधिकार नहुँदा सम्म किसान जोखिममा रहने बताए । उनले तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएपनि बजारको जोखिम लिन नसकेर दोहोर काम गरिरहेको बताए ।