राँझा – भारतको उत्तर प्रदेश पु-याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको हो ।

शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईका अनुसार रूपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रूपमा भारत पु¥याइएका थिए । १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा ती बालकलाई भारतको गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका छन् । भट्टराईले बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर बालकलाई अभिभावकको जिम्मा लगाउने जानकारी दिइन् ।
उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ । अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरूलाई भारत पु¥याउने व्यक्तिको पहिचान हुन सकेको छैन ।
रासस



















