बझाङ – तेलको भाउ बढेर उपभोक्ता हैरान भइरहेका बेलामा पनि थलाराका बासिन्दालाई भने कुनै चिन्ता छैन । उनीहरूलाई न बजारको महँगीले छोएको छ नत कुनै मिसावटको डर ।
‘आफ्नै घरबाट तोरी, च्युरी, तिरकुलो (सिलाम), भट्ट (भटमास) लिएर मिलमा जान्छौं । एकै छिनमा चाहिने जति तेल पेलेर फर्किन्छौं,’ थलारा पिखेतकी रेखा रोकायाले भनिन्, ‘बजारको तेल महँगो होस् कि जेसुकै मिसाउन हामीलाई मतलब छैन ।’ गाउँमै तेल पेल्ने मेसिन स्थापना भएपछि ताजा र शुद्ध तेल उपभोग गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् ।


यहाँको कोटभैरव साना किसान सहकारी संस्थाले सामुदायिक तेल मिल सञ्चालनमा ल्याएपछि बाहिरबाट तेल खरिद गर्ने क्रम निकै घटेको थलाराकै शिवुदेवी नेपालीले बताइन् । ‘एक लिटर तेल पेलेको १५ रुपैयाँ मात्रै तिर्नुपर्छ । चार÷पाँच किलो तोरी लिएपछि दुई लिटर तेल आइहाल्छ,’ उनले भनिन्, ‘बजारमा भन्दा कति हो कति सस्तो पर्छ । सस्तोमा ताजा तेल खान पाएपछि बजारको किन किन्ने ?’

गाउँमै तेल मिल खुलेपछि स्थानीय तोरी र अन्य तेलहन बालीको खेती पहिलाको तुलनामा बढी गर्न थालेको उनले बताइन् । थलारामा सामुदायिक तेल मिल स्थापना भएपछि पहिला त्यसै जंगलमा खेर जाने च्युरी, ढटेलो, इन्डोलगायतका तेलहन फलको पनि उपयोग हुन थालेको छ ।
यसले पालिकामा बाहिरबाट आयात हुने तेलको मात्रा धेरै घटेको कोटभैरव साना किसान सहकारी संस्था लिमिटेडका व्यवस्थापक जयराज भट्टराईले बताए । ‘पहिला मान्छेहरूले ढाटेलो, च्युरीका बोटहरू काम नलाग्ने भन्दै जथाभावी काट्ने गरेका थिए,’ उनले भने ‘आजभोलि यो त तेलको बोट हो भनेर आफ्नै बारीमा पनि लगाउन थालेका छन् । गाउँकै उत्पादनबाट तेल बनाउन थालेपछि धेरैले बाहिरको तेल खान छोडिसके ।’
अहिले गाउँपालिकाभित्रका व्यक्तिको तोरी र अन्य तेलहनहरू शुल्क लिएर तेल पेल्ने गरेको सहकारीले अर्को वर्षबाट पालिका बाहिरको बजारमा तेल पठाउने लक्ष्यसहित तोरी खेतीलाई प्रवर्द्धन गरिरहेको सहकारीका अध्यक्ष हर्कबहादुर विष्टले बताए ।
किसानलाई उन्नत जातको तोरीको बीउ सहुलियत मूल्यमा वितरण गर्ने र उत्पादन भएको तोरी सहकारीले खरिद गर्ने गरी तोरी पकेट कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।
















