खाेज्नुहाेस

कामको बोझले बालबालीकाको पढाई प्रभावित

Image

बझाङ – १६ बर्षीय लोकेश सिंह १० कक्षामा पढ्छन । उनका भाइ अविशेक अहिले १३ वर्षका भए उनी ६ कक्षामा अध्ययनरत छन ।
जेठको पहिलो हप्ताबाट उनीहरुकोे विद्यालय चलिरहेको छ ।

उनीहरुलाई भने विद्यालय र पढाई भन्दा खेतीपाती लगाउने कामको चिन्ता र चटारो छ । ‘विहान ५ बजेतिर उठेर विद्यालय जान्छौँ । १ बजे दिउँसो विद्यालय बन्द हुन्छ । घरमा दिउँसो १ बजे खाना खाएर साँझ ६ बजे सम्म खेतमा काम गर्न जान्छौँ ।’ आफ्नो दैनिकी विस्तार गर्दै लोकेशले भने, ‘सबैका खेत जोतिसके हाम्रा मात्र बाँकी छन् । विद्यालय गएको बेला पनि काम कै चिन्ता लाग्छ ।’

godawari nagarpalika dadhelo
attariya hospital

लोकेशका बाबु लखन ६ महिना अघि कामको खोजीमा भारत हिँडेपछि उनीहरु माथि खेतीपाती लगायत घरको कामको सम्पूर्ण जिम्मा थोपरिएको हो । अहिले उनको घरमा आमा र दुई भाइ छोरा मात्र छन् । महिलाले हलो जोत्नेलगायत खेतीपातीका काम गर्ने चलन नभएका कारण यी बालबालिकालाई कामको बोझ आइलागेको हो ।

उनी मात्र नभएर उनका गाउँका अधिकांश बालबालिकाको दैनिकी यस्तै छ । लोकेशको गाउँ कैलाशबाट नै ५ सय भन्दा बढी पुरुषहरु कामको खोजीमा भारततिर हिँडेका छन् । जिल्ला भरीबाट कति मानिसहरु भारत गएका छन् भन्ने यकिन तथ्यांक नभए पनि यस वर्ष मात्र बझाङबाट १० हजार भन्दा बढी भारत गएको अनुमान छ ।

navjiwan hospital

घरको काम धन्दा चलाउने र खेतीपाती लगाउने मानिस घर नफर्केपछि जिल्ला भरीका हजारौँ बालबालिकाहरु माथि कठोर शारीरिक श्रम गरेर घर परिवार चलाउने जिम्मेवारी परेको छ भने कार्यबोझको कारण पढाई प्रति ध्यान दिने समय नपाउँदा पठनपाठन पनि प्रभावित भएको बालबालिकाहरु बताउँछन् ।

६ महिना अघि श्रीमान विदेश गएपछि आफ्ना जुम्ल्याहा ९÷९ वर्षका २ छोराहरूले सबै खेतीपातीको काम धानिरहेको बताउने पिमिकी लालदेवी सिंहले भनिन् ‘उब्जनी नभए पनि खेती ठूलो छ । यिनीहरु नभए त मेरो बिचल्ली हुने थियो । कसैलाई सहयोग मागौँ भने पनि गाउँमा मान्छे नै छैनन् । धन्न मेरा छोराहरूले खेती धानिरहेका छन् ।’

हलो जोत्ने, मल बोक्ने खन्ने काममा आफूजस्तै साथीहरु मिलेर एक अर्काको सहयोग पनि गर्ने गरेका उनका ८ वर्षीय छोरा कलश सिंहले बताए । बालबालिकाहरु माथि कामको बोझ थपिए पछि पढाईमा पनि कमजोर हुने गरेको नारायण माध्यमिक विद्यालय कैलाशका शिक्षक लोकेन्द्र बहादुर सिंहले बताए ।

‘खेतीपाती लगाउने समय छ । घरमा काम गर्ने मानिस नभएका कारण विद्यार्थीहरु त्यतैतिर बढी व्यस्त हुने गरेका छन् । स्कुल त नियमित आउन पाउँदैनन गृहकार्य पनि सधैँ जसो गरेको पाइदैन ।’ गाउँको अवस्था जानकारी दिँदै सिंहले भने, ‘अभिभावकहरु घरमा हुने भन्दा विदेश गएका मानिसका बालबालिकाहरु पढाइमा निकै कमजोर देखिएका छन् ।’

घरमा काम गर्ने मानिस नभएकाले बालबालिकाहरु पनि पढाइ भन्दा घरको काम प्रति नै बढी चिन्तित हुने गरेको उनको भनाई छ । ‘कतिपयका त आमाबुबा नै भारत गएका छन्,’ जयपृथ्वी नगरपालिका – ३ पडेसका दिपेन्द्र खड्काले भने, ‘सारा घरको जिम्मा केटाकेटी माथि नै परेका कारण पढाईको बारेमा त सोच्ने फुर्सद नै पाएका छैनन् ।’

सानो उमेरमा नै बोझिलो कामको मारले थिचिएका बालबालिकाको मानसिक र शारीरिक विकासमा समेत गम्भीर असर पर्ने गरेको उनले बताए ।